काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघका पदाधिकारीसँग भेटवार्ता तथा छलफल गर्ने कार्यक्रम रहेको छ।
केही बेरमा सुरु हुने बैठकमा महिला उद्यमशीलताको विकास, उद्योग–व्यवसायमा महिलाको सहभागिता बढाउने उपाय, उद्यम प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधार तथा निजी क्षेत्रसँगको सहकार्यका विषयमा विस्तृत छलफल हुने जनाइएको छ। बैठकमा महिला उद्यमी महासंघकी अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन्। छलफलका क्रममा महिला उद्यमीहरूले व्यवसाय सञ्चालनका क्रममा सामना गरिरहेका समस्या, लगानी र वित्तीय स्रोतमा पहुँच, उद्यममैत्री वातावरण निर्माण तथा महिला नेतृत्वमा सञ्चालित व्यवसायको प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधारका विषयमा आफ्ना सुझाव प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ।
