काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश भूभागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही माथि र पूर्वतर्फ औसत स्थानकै आसपास रहेकाले विभिन्न क्षेत्रमा वर्षा हुने अवस्था बनेको महाशाखाले उल्लेख गरेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै, मधेस र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ।
आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्र, देशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि देशभर बदली कायम रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेस र कोशी प्रदेशका पहाडी तथा तराईका साथै कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानसहित कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। महाशाखाले भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने चेतावनी दिएको छ। त्यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
