काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्ड युवराज दीपेन्द्र शाहले गराएको भन्ने स्थापित कथामाथि प्रश्न उठाएका छन्।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले दरबार हत्याकाण्डपछि युवराज दीपेन्द्रले आफ्ना बाबुआमा तथा परिवारका अन्य सदस्यको हत्या गरी आफूले पनि आत्महत्या गरेको भन्ने कथा योजनाबद्ध रूपमा फैलाइएको दाबी गरे। उनका अनुसार उक्त घटनाबारे सार्वजनिक गरिएको विवरण सत्यमा आधारित नभई पूर्वतयारीसहित बनाइएको ‘रेडिमेड कथा’ थियो।
ओलीले हत्याकाण्डलगत्तै प्रेम सम्बन्ध असफल भएका कारण दीपेन्द्रले यस्तो कदम चालेको भन्ने विवरण विश्वभर फैलाइएको उल्लेख गर्दै त्यसको सत्यताबारे अझै स्पष्ट जानकारी सार्वजनिक नभएको बताए। उनले दुई दशकभन्दा बढी समयसम्म त्यही कथाले जनमानसमा प्रभाव जमाएको तर वास्तविक तथ्य अझै खुल्न नसकेको धारणा राखे।
उनले उक्त कथाको रचनाकार र त्यसलाई विश्वव्यापी रूपमा फैलाउने व्यक्ति वा समूह को थियो भन्ने विषयमा पनि स्पष्टता नभएको बताए। साथै, प्रेम सम्बन्धलाई आधार बनाएर दरबार हत्याकाण्डको व्याख्या गरिएको कथा घटनासँग सम्बन्धित षड्यन्त्रकारीहरूले निर्माण गरेको दाबी पनि गरे।
