काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकको अवस्थामा मनाइँदै गरेको बडादसैँले नेपाली समाजमा एकता, सद्भाव र सहकार्यको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
विजयादशमी, २०८३ को अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै लामिछानेले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गर्दै विपत्तिका कारण घरबारविहीन तथा विस्थापित हुन पुगेका नागरिकको अवस्थाप्रति दुःख व्यक्त गरेका छन्। सत्यको असत्य र न्यायको अन्यायमाथि विजयको सन्देश बोकेको दसैँका अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिको कामना गरेका छन्।
लामिछानेले नवदुर्गा भवानीसँग व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा काम गर्ने सद्बुद्धि, शक्ति तथा सङ्कटको सामना गर्ने साहस सबैलाई प्रदान गर्न प्रार्थना गरेका छन्। दसैँले निराशाबाट आशातर्फ र विपत्तिबाट पुनर्निर्माणतर्फ अघि बढ्न नयाँ ऊर्जा र प्रेरणा दिने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
