काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्वलाई नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भन्दै यसको दीर्घकालीन समाधान राजनीतिक दलहरूको प्राथमिक कार्यसूचीमा समावेश हुनुपर्ने बताएका छन्।
कांग्रेसद्वारा आयोजित १२औँ ‘ग्रीन टेबल’ कार्यक्रमअन्तर्गत ‘मानव–वन्यजन्तु द्वन्द्व र सुरक्षित सहअस्तित्व’ विषयमा आयोजित छलफलमा बोल्दै उनले यस सम्बन्धमा आएका सुझाव समेटेर नीतिगत दस्तावेज तयार गरिने जानकारी दिएउनका अनुसार तयार हुने उक्त दस्तावेज स्थानीय तह, सम्बन्धित निकाय तथा संघीय संसदका सांसदहरूसमक्ष पनि पठाइनेछ, ताकि नीतिनिर्माण र कार्यान्वयनका क्रममा त्यसलाई उपयोग गर्न सकियोस्।
थापाले मानव–वन्यजन्तु द्वन्द्वलाई केवल वातावरणीय वा संरक्षणको विषयका रूपमा नभई नागरिकको सुरक्षा र जीविकासँग जोडिएको मुद्दाका रूपमा हेर्नुपर्ने धारणा राखे। उनले यस्तो समस्याको समाधानका लागि राजनीतिक दलहरूले स्पष्ट नीति र प्रतिबद्धता देखाउनुपर्ने आवश्यकता औँल्याए। उनले राजनीतिक दलहरू प्रायः ठूला राजनीतिक एजेन्डामा केन्द्रित हुँदा जनजीवनसँग प्रत्यक्ष सम्बन्धित यस्ता विषयहरू ओझेलमा पर्ने गरेको स्वीकार गरे। ‘हामी प्रायः ठूला राजनीतिक बहसमै व्यस्त हुन्छौं। तर नागरिकको दैनिकीसँग गाँसिएका यस्ता विषय पनि उत्तिकै महत्वपूर्ण छन्। यिनमा खुला बहस गरेर व्यवहारिक समाधान निकाल्नु अहिलेको आवश्यकता हो,’ उनले बताए।
