प्रधानमन्त्रीसँग राप्रपाको भेट, संविधान संशोधनमा छलफल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न सरकारले गठन गरेको कार्यदललाई ससर्त समर्थन गर्ने जनाएको छ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको भेटवार्ताका क्रममा राप्रपाका नेताहरूले संघीय व्यवस्थाका केही पक्ष परिमार्जन वा परिवर्तन गर्ने उद्देश्य भए सरकारलाई आफ्नो पार्टीको सहयोग रहने बताएका हुन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्थामा आवश्यक सुधार वा परिवर्तनको दिशामा सरकार अघि बढे राप्रपाले सकारात्मक भूमिका खेल्ने स्पष्ट पारे।

जवाफमा प्रधानमन्त्री शाहले कार्यदलको उद्देश्य संविधान संशोधन गर्नु वा संशोधनका एजेन्डा तय गर्नु नभई विभिन्न पक्षसँग व्यापक छलफल गरी बहसपत्र तयार पार्ने मात्र रहेको बताएका थिए। भेटका क्रममा राप्रपाले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या, रासायनिक मलको अभाव र वितरण व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा विद्युत्जस्ता आधारभूत सेवामा लगाइएको करबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जनाएको छ।

यस्तै, विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको स्वास्थ्य उपचार तथा दैनिक जीवनसँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक पहल गर्न पनि राप्रपाले सरकारसँग आग्रह गरेको छ। प्रधानमन्त्रीसँगको छलफलमा राप्रपा अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली सहभागी थिए।

Back To Top
Modern Footer Design