काठमाडौं । नागरिक आन्दोलनका अग्रणी अभियन्ता तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार साँझ ७ः४० बजे काठमाडौंको विशालनगरस्थित आफ्नै निवासमा उनको निधन भएको हो।
नागरिक आन्दोलनमा सक्रिय चिकित्सक डा. अनुप सुवेदीका अनुसार परिवारका सदस्यहरूको साथमा रहेका बेला पाण्डेको निधन भएको हो। अस्वस्थ भएपछि उनलाई ह्याम्स अस्पताल र त्यसपछि पाटन अस्पतालमा उपचारका लागि लगिएको थियो। अन्तिम अवस्थाको जानकारी पाएपछि परिवारले उनलाई घरमै राखेर हेरचाह गर्ने निर्णय गरेको थियो। करिब तीन महिनाअघि क्यान्सर पुष्टि भएपछि उनले आक्रामक उपचारभन्दा पीडा कम गर्ने उपचारलाई प्राथमिकता दिएका थिए। पछिल्लो समय उनी नियमित स्वास्थ्य निगरानीसहित घरमै आराम गरिरहेका थिए।
नागरिक अभियानकर्मी विमल अर्यालका अनुसार पाण्डेको अन्त्येष्टि शनिबार बिहान ११ बजे पशुपति आर्यघाटमा गरिनेछ। नेपालको लोकतान्त्रिक आन्दोलन, सुशासन, सार्वजनिक प्रशासन र आर्थिक नीतिका क्षेत्रमा पाण्डेको योगदान उल्लेखनीय मानिन्छ। २०४६ सालको जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा उनले २०४७–२०४८ सालसम्म अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। सोही अवधिमा नेपालको संविधान–२०४७ जारी भएको थियो। २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन सुरु गरेपछि लोकतन्त्र पुनःस्थापनाका लागि सञ्चालन भएका नागरिक आन्दोलनमा उनले नेतृत्वदायी भूमिका खेले। उनी लोकतन्त्र, सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार र उत्तरदायी शासन व्यवस्थाका सशक्त पक्षधरका रूपमा परिचित थिए।
वि.सं. १९९६ भदौ ३ गते ९२० अगस्ट १९३९० काठमाडौंमा जन्मिएका पाण्डेले त्रिचन्द्र क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका थिए। त्यसपछि भारतको इलाहाबाद विश्वविद्यालयबाट स्नातकोत्तर तथा अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयबाट सार्वजनिक तथा अन्तर्राष्ट्रिय मामिलामा विद्यावारिधि ९पीएचडी० गरेका थिए। उनले १९६१ मा नेपाल सरकारको प्रशासनिक सेवाबाट सार्वजनिक जीवन सुरु गरेका थिए। १९७८ देखि १९८० सम्म अर्थसचिवका रूपमा कार्यरत रहेका उनी तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासँग मतभेद भएपछि पदबाट अलग भएका थिए। उनलाई नेपालको सक्षम र दूरदर्शी अर्थसचिवमध्ये एक मानिन्छ। विशेषगरी २०६२–६३ को जनआन्दोलनमा उनले लोकतन्त्र र शान्तिका पक्षमा सञ्चालित नागरिक आन्दोलनको नेतृत्वदायी भूमिकामा रहेर योगदान दिएका थिए। सार्वजनिक जीवनभर उनले लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र संस्थागत सुधारको पक्षमा निरन्तर आवाज उठाए।
पाण्डे ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष समेत थिए। पारदर्शिता, जवाफदेहिता र सुशासनको प्रवर्द्धनमा उनको योगदान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै तहमा स्मरणीय छ। उनले अर्थतन्त्र, विकास, लोकतन्त्र र सुशासनका विषयमा नेपाली तथा अंग्रेजी भाषामा थुप्रै पुस्तक लेखेका छन्। नेपालको विकासलाई उनले आर्थिक स्रोतको सीमितताभन्दा पनि सुशासन, संस्थागत उत्तरदायित्व, राजनीतिक संस्कार र नागरिक सहभागितासँग जोडेर विश्लेषण गर्ने गरेका थिए। समाजमा सद्भाव, लोकतान्त्रिक चेतना र सामाजिक न्यायको प्रवर्द्धनमा उनको योगदानलाई विशेष रूपमा स्मरण गरिन्छ। नको निधनप्रति विभिन्न राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि तथा बौद्धिक समुदायले गहिरो दुःख व्यक्त गर्दै लोकतन्त्र र सुशासनका एक निष्ठावान अभियन्ताको रूपमा श्रद्धाञ्जलि अर्पण गरेका छन्।
