संसद्का पाँच समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतका पाँच वटा विषयगत समितिको बैठक आज बस्दैछ। ती बैठकमा विभिन्न विधेयक, विकास योजना, कृषि तथा सामाजिक विषयसँग सम्बन्धित एजेन्डामाथि छलफल हुने कार्यसूची रहेको छ।

बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिहरूले तयार पारेका प्रतिवेदनमाथि छलफल गरिनेछ। त्यस्तै, बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ माथि परेका संशोधन प्रस्तावबारे संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यक्रम छ। सोही समयमा पूर्वाधार विकास समितिको बैठक पनि बस्नेछ। उक्त बैठकमा खानेपानी आपूर्ति कार्ययोजनासम्बन्धी प्रतिवेदनमाथि छलफल गरिने जनाइएको छ।

यसैगरी, बिहान ११ बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्नेछ। बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य तथा दिगो कृषि विकासमा यसको सम्भावनाबारे विस्तृत छलफल हुनेछ। त्यसै समय महिला तथा सामाजिक विकास समितिको बैठक पनि तय गरिएको छ। उक्त समितिले राष्ट्रिय दलित आयोगले हालसम्म गरेका कामकारबाही तथा प्रगतिबारे छलफल गर्नेछ। आज बस्ने यी पाँचै समितिका बैठकमा सम्बन्धित विषयमा छलफल गरी आवश्यक सुझाव तथा निष्कर्ष निकाल्ने तयारी गरिएको छ।

Back To Top
Modern Footer Design