काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले शनिबार साँझ करिब ४ः४५ बजे कैलालीको गोदावरी नगरपालिका–२ नजिकै महाकाली यातायातको गाडीले बझाङको मष्ट गाउँपालिका–६ की सिङ्की बोहरालाई ठक्कर दिएको जानकारी गराए । उनका अनुसार ठक्करबाट सामान्य घाइते भएकी बोहरालाई गाडीले ब्याक गरेर पुनः ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि मृतकका आफन्त तथा स्थानीयवासीले घटनास्थलमा भेला भएर विरोध जनाउँदा प्रहरीले गाडीमाथि तत्काल कानुनी कारबाही गर्नुको सट्टा शव जबर्जस्ती उठाएर लगेको महरले बताए ।
विरोधका क्रममा प्रहरीले लाठीचार्ज गर्दा मृतकका श्रीमान्सहित केही व्यक्ति घाइते भएको र उनीहरूमध्ये केहीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको उनले बताए । महरले घटनाका कारण मृतक परिवार थप पीडामा परेको उल्लेख गर्दै पीडित परिवारलाई उचित न्याय र राहतको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । उनले सार्वजनिक यातायात क्षेत्रमा हुने लापरबाही, गैरजिम्मेवारी तथा अराजक गतिविधि नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने बताए । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने उनको माग छ।
