सरकार संसद्प्रति उदासीन बनेको नेकपाका उपनेता हमालको आरोप

काठमाडौँ । नेकपाका संसदीय दलका उपनेता प्रमेशकुमार हमालले वर्तमान सरकार संसद्प्रति गम्भीर नरहेको आरोप लगाएका छन्।

चालु संसद् अधिवेशनको अन्तिम चरणमा शुक्रबार सम्बोधन गर्दै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्। हमालले सरकार गठन भएको ६ महिना बितिसक्दा पनि सुशासन, सेवा प्रवाह, रोजगारी र आर्थिक विकासका क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको दाबी गरे। संसद्मा सांसदहरूले जनजीविका, विकास र विभिन्न समस्याबारे प्रश्न उठाए पनि सरकारले त्यसलाई पर्याप्त रूपमा सम्बोधन नगरेको उनको भनाइ थियो।

उनले संसद् अधिवेशन सुरु भएलगत्तै बैठक स्थगित गरेर अध्यादेश ल्याइएको विषयप्रति समेत आपत्ति जनाए। कार्यपालिकाले संसद्लाई छल्ने र व्यवस्थापिकाको भूमिकालाई कमजोर बनाउने प्रवृत्ति देखिएको आरोप लगाउँदै उनले सरकार र संसद्बीच प्रभावकारी समन्वय हुन नसकेको बताए। हमालले प्रधानमन्त्रीले संसद्को रोस्टमबाट दिएको केही अभिव्यक्तिमाथि पनि प्रश्न उठाए। उनले विवादित भनिएका अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन माग गर्दै त्यसबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए।

सरकार निरङ्कुश दिशातर्फ अघि बढेको आरोप लगाउँदै हमालले ट्रेड युनियन सञ्चालनमा अवरोध, कर्मचारीमाथि दबाब तथा पत्रकार र बौद्धिक क्षेत्रसँग सम्बन्धित व्यक्तिमाथि त्रास सिर्जना गर्ने काम भएको दाबीसमेत गरे। त्यस्तै, पुँजीगत खर्च न्यून रहेको, महँगी बढेको र रोजगारीको अभावमा युवाहरू विदेशिने क्रम जारी रहेको भन्दै उनले सरकारको आर्थिक तथा रोजगारीसम्बन्धी कामप्रति असन्तुष्टि जनाए।

उनले सरकारलाई आफ्ना प्रतिबद्धता पूरा गर्न, संसद्प्रति जवाफदेही बन्न र लोकतान्त्रिक संस्थाको मर्यादा कायम राख्न आग्रह गरे। चालु संघीय संसद्को अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन्।

Back To Top
Modern Footer Design