काठमाडौं । भोजपुर र उदयपुरलाई जोड्ने चुहार पुल निर्माणको काम अघि बढ्ने भएपछि यसको श्रेय कसले लिने भन्ने विषयमा राजनीतिक प्रतिस्पर्धा देखिन थालेको छ।
पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माणका लागि भेरिएसन अर्डर (भीओ) स्वीकृत भएसँगै काम अघि बढ्ने बाटो खुलेपछि पूर्वमुख्यमन्त्री शेरधन राईले सामाजिक सञ्जालमार्फत आफ्नो भूमिका स्मरण गराएका छन्। राईले आफू मुख्यमन्त्री रहँदा चुहार पुल निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको, शिलान्यास गरेको र निर्माण प्रक्रिया अगाडि बढाएको दाबी गरेका छन्। उनले पुल निर्माणसँग सम्बन्धित तस्बिरसमेत सार्वजनिक गर्दै पछिल्लो राजनीतिक घटनाक्रमका कारण काम रोकिएको आरोप लगाएका छन्।
पुल निर्माण हुन नदिन आफूविरुद्ध गलत प्रचार गरिएको दाबी पनि राईले गरेका छन्। उनका अनुसार भेरिएसन अर्डरसम्बन्धी फाइल लामो समयसम्म रोकिएको थियो भने आवश्यक कागजातमा समेत चलखेल गरिएको थियो। चुहारमा पुल निर्माण हुन नदिने प्रयास भएको आरोपसमेत उनले लगाएका छन्। पुल निर्माण प्रक्रिया अघि बढेपछि त्यसको श्रेय आफूलाई जाने आशंकाले विभिन्न बहाना बनाउने प्रवृत्ति अन्त्य हुने आशय राईको सामाजिक सञ्जालमा देखिन्छ। निर्माणस्थलमा पुगेर मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूले ‘अब पुल जसरी पनि बन्छ’ भन्ने अभिव्यक्ति दिएको विषयमा पनि उनले व्यंग्य गरेका छन्।
