काठमाडौं । कानुनी परामर्शका लागि ल फर्म पुगेकी एक महिलालाई प्रहरीले फर्मभित्रै प्रवेश गरेर पक्राउ गरेको घटनाप्रति नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ ।
डिल्लीबजारस्थित जनचेतना ल फर्ममा परामर्श लिन पुगेकी सेवाग्राही हस्तमाया बस्नेतलाई बुधबार प्रहरीले फर्मभित्रैबाट पक्राउ गरेर लगेको थियो । उक्त घटनालाई लिएर फर्ममा आबद्ध ६ जना कानुन व्यवसायीले बिहीबार बार एसोसिएसनसमक्ष निवेदन दिएपछि बारले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेको हो ।
बारले कानुनी परामर्श र छलफल भइरहेको तथा सेवाग्राहीका महत्त्वपूर्ण कागजात सुरक्षित राखिने संवेदनशील स्थानमा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी प्रवेश गरी हस्तक्षेप गरिएको जनाएको छ । सिभिल प्रहरीको परिचय दिँदै फर्ममा प्रवेश गरेका व्यक्तिहरूले त्यहाँ कार्यरत कानुन व्यवसायीहरूसँग अमर्यादित र असभ्य व्यवहार गरेको पनि बारको भनाइ छ ।
एसोसिएसनले घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल आवश्यक छानबिन गरी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । बारका महासचिव तथा वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार प्रहरी हस्तक्षेपको विषयमा अधिवक्ताहरू उद्धव केसी, रिजन सिलवाल, अनुपराज गौतम, निर्जल थापा, प्रमिस थपलिया र निश्चल श्रेष्ठले एसोसिएसनमा निवेदन दिएका थिए ।
