काठमाडौँ । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ ले प्रधानमन्त्रीले प्रतिनिधिसभामा व्यक्त गरेका राष्ट्रियता र सीमा सम्बन्धी भनाइबारे स्पष्ट प्रमाण प्रस्तुत गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदको गरिमा, राष्ट्रिय हित तथा समसामयिक विषयहरूसँग सम्बन्धित मुद्दामा आफूहरूले निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए। प्रधानमन्त्रीले संसदबाट व्यक्त गरेका राष्ट्रियता र सीमा सम्बन्धी अभिव्यक्तिले आम नागरिकमा चासो र जिज्ञासा बढाएको उनको भनाइ थियो। सांसद केरुङले प्रधानमन्त्रीको भनाइसँग सम्बन्धित तथ्य र प्रमाण सार्वजनिक गरी संसद्को अभिलेखमा रहेका विषयमा स्पष्टता दिन आवश्यक रहेको उल्लेख गरे। उनले सीमा सम्बन्धी दाबीको आधारबारे सदनमै जानकारी गराउन सरकारसँग आग्रह गरे।
त्यसैगरी, गृहमन्त्रीसँग सम्बन्धित छानबिन आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न पनि उनले माग गरे। आयोगले के निष्कर्ष निकालेको हो र गृहमन्त्रीले कुन आधारमा सफाइ पाएका हुन् भन्ने विषयमा सांसद तथा नागरिकलाई जानकारी पाउने अधिकार रहेको उनको भनाइ थियो। उनले नागरिक सर्वोच्चताको सिद्धान्तलाई लोकतन्त्रको मूल आधार बताउँदै यस्ता विषयमा आम जनताले पनि जवाफ खोजिरहेको उल्लेख गरे। त्यसैले सरकार पारदर्शी बन्नुपर्ने र सम्बन्धित प्रतिवेदनहरू सार्वजनिक गर्न ढिलाइ गर्न नहुने उनको धारणा थियो। सद केरुङले मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत यथाशीघ्र सार्वजनिक गरी त्यसका सुझाव र निष्कर्ष कार्यान्वयनतर्फ सरकार अग्रसर हुनुपर्नेमा जोड दिए। उनले संसद्को रोष्ट्रमबाट विपक्षी दलप्रति हुने टिप्पणी र व्यवहारप्रति समेत सरकार संवेदनशील हुनुपर्ने बताएका थिए।
