शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब बजेट, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहलाई

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि शिक्षा तथा खेलकुद क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले उक्त रकम कुल २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको राष्ट्रिय बजेटको १०.२८ प्रतिशत रहेको जानकारी दिए। मन्त्री पोखरेलका अनुसार बजेटको अनुपात अघिल्लो वर्षको तुलनामा केही घटेको देखिए पनि रकमका हिसाबले भने करिब सात अर्ब रुपैयाँले वृद्धि भएको छ। यसले शिक्षा क्षेत्रलाई सरकारले निरन्तर प्राथमिकतामा राखेको संकेत गर्ने उनले बताए। उनले शिक्षा तथा खेलकुद क्षेत्रको कुल बजेटमध्ये ६९.०७ प्रतिशत रकम स्थानीय तहमा हस्तान्तरण गरिएको जानकारी दिए। विद्यालय शिक्षाका अधिकांश कार्यक्रम स्थानीय तहबाट सञ्चालन हुने भएकाले बजेटको ठूलो हिस्सा त्यहाँ पठाइएको उनको भनाइ थियो।

यस्तै, २.१२ प्रतिशत बजेट प्रदेश सरकारमार्फत कार्यान्वयन हुने गरी विनियोजन गरिएको छ। मन्त्री पोखरेलले कुल बजेटमध्ये १ खर्ब ५० अर्ब ५८ करोड ८९ लाख रुपैयाँ अर्थात् झण्डै ६९ प्रतिशत रकम तलब तथा पेन्सनमा खर्च हुने बताए। बजेटको क्षेत्रगत वितरणअनुसार विद्यालय शिक्षाले सबैभन्दा ठूलो हिस्सा प्राप्त गरेको छ। विद्यालय शिक्षाका लागि ६९.४९ प्रतिशत बजेट छुट्याइएको छ भने उच्च शिक्षामा ११.०४ प्रतिशत, प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिममा २.५६ प्रतिशत र व्यवस्थापनतर्फ १५.१७ प्रतिशत बजेट विनियोजन गरिएको छ।

विद्यालय पूर्वाधार विकासलाई समेत प्राथमिकता दिँदै सरकारले विभिन्न जिल्लाका विद्यालय भवन निर्माण तथा सुधारका लागि बजेट व्यवस्था गरेको मन्त्री पोखरेलले बताए। गोरखा तथा पश्चिम नेपालका भूकम्प प्रभावित १९ जिल्लाबाहेकका स्थानीय तहका विद्यालयहरूलाई विद्यार्थी सङ्ख्याका आधारमा २७ लाख ५० हजारदेखि ६५ लाख रुपैयाँसम्म उपलब्ध गराइने व्यवस्था गरिएको छ। उनका अनुसार स्थानीय तहको साझेदारीमा विद्यालयको भौतिक संरचना निर्माण र सुधारका लागि गुरुयोजनाको आधारमा २ अर्ब ३७ करोड २ लाख रुपैयाँ छुट्याइएको छ। विद्यालयको पूर्वाधार सुदृढ बनाउने र शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले आवश्यक स्रोतको व्यवस्थापन गरिएको पनि उनले बताए।

Back To Top
Modern Footer Design