हेटौँडा । अर्थमन्त्री स्वर्णिम वाग्ले आज हेटौँडा आउने कार्यक्रम तय भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।
नेपाल बैंक लिमिटेड सिटी अफिस हेटौँडाको नवनिर्मित भवन उद्घाटन तथा शुभारम्भ कार्यक्रममा सहभागी हुन मन्त्री वाग्ले हेटौँडा आउन लागेका हुन्। उनको भ्रमणलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सम्बन्धित सुरक्षा निकायले आवश्यक सुरक्षा प्रबन्ध मिलाएका छन्। कार्यक्रम स्थल तथा आसपासका क्षेत्रमा सुरक्षा निगरानी पनि बढाइएको जनाइएको छ।
नवनिर्मित भवनको उद्घाटनसँगै बैंकिङ सेवा अझ व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री हुने अपेक्षा गरिएको छ। कार्यक्रममा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, बैंकका उच्च पदाधिकारी, उद्योगी–व्यवसायी तथा सर्वसाधारणको समेत उपस्थिति रहने बताइएको छ। अर्थमन्त्री वाग्लेको उपस्थितिमा हुने यो कार्यक्रमलाई हेटौँडाको आर्थिक तथा बैंकिङ क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
