दैलेख।दैलेखमा कर्णाली नदीमा खसेको यात्रुवाहक गाडीका बेपत्ता सहचालकको शव अछाममा फेला परेको छ। दुर्घटनापछि हराइरहेका सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँ निवासी करिब ३१ वर्षीय रामप्रसाद सुवेदी मृत अवस्थामा भेटिएका हुन्।
दैलेख प्रहरीका अनुसार शनिबार बिहान करिब ७ बजे अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडास्थित कर्णाली नदी किनारमा फेला परेको शवको पहिचान दिउँसो उनका बुवाले गरेका थिए। यो दुर्घटनामा बेपत्ता भएकामध्ये अब गाडी चालक करिब २८ वर्षीय तुलसीराम सुवेदी मात्रै अझै सम्पर्कविहीन छन्। चालक तुलसीराम र सहचालक रामप्रसाद दाजुभाइ रहेको प्रहरीले जनाएको छ।
यसअघि मंगलबार सुर्खेतको चौकुने गाउँपालिका–४ क्षेत्रमा कर्णाली नदीबाट फेला परेको शव कालीकोटको रास्कोट नगरपालिका–२ निवासी १८ वर्षीया सृजना खड्काको रहेको पुष्टि भएको थियो। यस्तै, सोही दुर्घटनामा बेपत्ता भएका कालीकोटको पचालझरना गाउँपालिका–९ का ६२ वर्षीय मेखे तिरुवाको शव कैलालीको मोहन्याल गाउँपालिका–६ स्थित कर्णाली नदी किनारमा फेला परेको थियो। दुर्घटनाकै दिन पचालझरना गाउँपालिका–९ का ४५ वर्षीय जेखे तिरुवाको शव भीरमा अड्किएको अवस्थामा भेटिएको थियो। मेखे र जेखे साढु–दाजुभाइ थिए।
गत असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ पाल्तडा नजिकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो। दुर्घटनालगत्तैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेपत्ताहरूको खोजी जारी राखेको छ। यद्यपि हालसम्म दुर्घटनाग्रस्त गाडी र चालकको अवस्था अझै पत्ता लाग्न सकेको छैन। फेला परेका शवहरू भने दुर्घटनास्थलबाट निकै तल बगेर अछाम, सुर्खेत र कैलालीका विभिन्न स्थानमा भेटिएका छन्।
