ट्रम्पको चेतावनी,आवश्यक परे इरानमाथि हजार क्षेप्यास्त्र प्रहार गर्न अमेरिका तयार

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा चेतावनी दिँदै आवश्यक परे अमेरिकाले हजारौँ क्षेप्यास्त्र प्रहार गर्न सक्ने तयारी पूरा गरेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले इरानलाई लक्षित गरेर करिब एक हजार क्षेप्यास्त्र तयारी अवस्थामा राखिएको दाबी गरेका हुन्। उनले इरानी सरकारले अमेरिकाका बहालवाला राष्ट्रपतिको हत्या गर्ने वा त्यस्तो प्रयास गर्ने कुनै पनि धम्कीलाई व्यवहारमा उतारे त्यसको तत्काल कडा सैन्य जवाफ दिइने चेतावनी दिएका छन्। ट्रम्पका अनुसार त्यस्तो अवस्था आए अमेरिकाले थप हजारौँ क्षेप्यास्त्र प्रहार गर्न पनि पछि नपर्नेछ।

यता, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले आपसी समझदारीको उल्लंघन गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल एक्समा उनले इरानले आफ्ना सबै प्रतिबद्धता पूरा गर्दै आएको दाबी गर्दै सम्झौता उल्लंघन अमेरिकाका पछिल्ला कदमहरूको निरन्तरता भएको बताएका छन्। त्यस्तै, इरानी संसदका सभामुख मोहम्मद बाघेर घालिबाफले तेहरान कुनै पनि दबाबमा नझुक्ने स्पष्ट पारेका छन्। अल जजिराका अनुसार उनले अमेरिका सम्झौताबाट पछि हटे इरान आफ्नो सुरक्षाका लागि आवश्यक सबै कदम चाल्न तयार रहेको बताएका छन्।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले पनि देशका सशस्त्र बल उच्च सतर्कतामा रहेको जानकारी दिएका छन्। उनका अनुसार इरानका सुरक्षाकर्मी सीमाना, तटीय क्षेत्र, टापु तथा अन्य संवेदनशील स्थानमा तैनाथ भई अमेरिकी गतिविधिमाथि निरन्तर निगरानी गरिरहेका छन्। यसबीच, अल जजिराले अमेरिकी उच्च अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिका–इरान वार्ता सकारात्मक दिशामा अघि बढिरहेको जनाएको छ। यद्यपि, वासिङ्टनले कुनै पनि सम्झौताअघि इरानले आफ्नो आणविक कार्यक्रमसम्बन्धी सर्तहरू स्वीकार गर्नुपर्ने र सबै आणविक सामग्री हस्तान्तरण गर्नुपर्ने अडान दोहोर्याउँदै आएको छ।

Back To Top
Modern Footer Design