सुनसरी घटनामा घाइते युवकको उपचारकै क्रममा मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

२२ वर्षीय जयप्रकाश मेहता उपचाररत अवस्थामा बिहीबार विराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएको हो। उनी गोली लागेपछि अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए।

यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। यसअघि आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो।

उक्त घटनामा प्रहरीको गोली लागेर प्रदर्शनकारीतर्फ आठ जना घाइते भएका थिए भने प्रहरीतर्फ पनि आठ जना घाइते भएको जनाइएको छ। घटना नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिएपछि अवस्था थप तनावग्रस्त बनेको थियो।

Back To Top
Modern Footer Design