स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोषिमा कार्कीले स्वास्थ्यकर्मीमाथि हुने भौतिक आक्रमण तथा दुर्व्यवहारका घटना तत्काल रोक्न सरकारसँग माग गरेकी छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले स्वास्थ्य क्षेत्रमा बढ्दै गएको दण्डहीनता र प्रशासनिक कमजोरीका कारण अस्पतालहरू असुरक्षित बन्दै गएको बताइन्। उनले स्वास्थ्यकर्मीमाथि कुटपिट हुने, त्यसपछि आन्दोलन गर्ने र सरकारसँग सम्झौता गर्ने तर सम्झौता कार्यान्वयन नहुने अवस्था वर्षौंदेखि दोहोरिँदै आएको उल्लेख गरिन्। हालै वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको सांघातिक आक्रमणपछि भएको सहमति कार्यान्वयन नहुँदै भक्तपुर अस्पतालमा समेत स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भन्दै कार्कीले राज्यको सुरक्षा संयन्त्रप्रति प्रश्न उठाइन्।

उनका अनुसार करिब ४५ देखि ५० प्रतिशत चिकित्सकले कार्यस्थलमा कुनै न कुनै प्रकारको हिंसा भोग्ने गरेका छन्। ४२ प्रतिशत भौतिक आक्रमण र ६४ प्रतिशत मौखिक दुर्व्यवहारका घटनामा संलग्नलाई राजनीतिक संरक्षण दिने तथा कारबाही नगर्ने प्रवृत्तिले अस्पतालहरू असुरक्षित बन्दै गएको उनको भनाइ छ। सरकार र चिकित्सक संघबीच पटक–पटक सम्झौता हुन्छन्, तर कार्यान्वयनको पाटो फितलो हुँदा समस्या समाधान हुन सकेको छैन,’ उनले भनिन्, ‘डाक्टरको हात काँपिरहेको छ र मन त्रसित छ। आफ्नै जीवन जोगाउन डराउनुपर्ने अवस्थामा चिकित्सकले बिरामीको प्रभावकारी उपचार कसरी गर्ने?’ स्वास्थ्यकर्मीहरूले कार्यस्थलमा सुरक्षित वातावरण र आत्मविश्वास चाहेको उल्लेख गर्दै सांसद कार्कीले आक्रमण तथा दुर्व्यवहारमा संलग्न दोषीलाई कडा कारबाही गर्न र स्वास्थ्यकर्मीको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न सरकारसँग माग गरिन्।

Back To Top
Modern Footer Design