रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, स्थानीय निर्वाचनदेखि संगठन विस्तारसम्म छलफल हुने

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे बैठक सुरु हुने महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन्।

बैठकमा आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा–२०८३ अनुमोदन गर्ने विषयमा छलफल हुने भएको छ। त्यस्तै, ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण तथा पार्टीको सांगठनिक व्यवस्थापन र विभिन्न पदमा मनोनयनका विषय पनि बैठकका एजेन्डामा रहेका छन्। केन्द्रीय समिति सदस्य, पदाधिकारी तथा सचिवालय सदस्य मनोनयनसँगै विभिन्न विभागका प्रमुख नियुक्तिका विषयमा पनि बैठकले छलफल गर्नेछ।

त्यसैगरी, स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न गठन हुने केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयनबारे पनि निर्णय हुने बताइएको छ। स्थानीय तहका उम्मेदवार छनोटसम्बन्धी रूपरेखाका विषयमा केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यहरूको नेतृत्वमा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि बैठकमा छलफल हुनेछ। रास्वपाले पार्टीको मुखपत्रका रूपमा स्वतन्त्र मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने तयारी गरेको छ। यससम्बन्धी आवश्यक निर्णय पनि बैठकबाट हुने महामन्त्री आचार्यले बताएका छन्।

Back To Top
Modern Footer Design