बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा विदेशी सिकारीको आकर्षण बढ्दो देखिएको छ।
गत आर्थिक वर्षमा यहाँ २१ नाउर र ११ झारलको सिकार भएको छ भने विदेशी सिकारीबाट ४ करोड १७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। ढोरपाटन सिकार आरक्षका अनुसार वर्षमा दुई चरणमा सिकार गराउने व्यवस्था छ। पहिलो चरणमा ११ नाउर र ८ झारलका लागि अनुमति दिइएकोमा ८ नाउर र ५ झारलको मात्र सिकार भएको थियो। यस चरणबाट ३ करोड ३ लाख ५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
त्यस्तै, दोस्रो चरणमा १४ नाउर र १० झारलका लागि अनुमति दिइएकोमा १३ नाउर र ६ झारलको सिकार भएको थियो। उक्त चरणबाट १ करोड ४३ लाख ७४ हजार रुपैयाँ राजस्व उठेको आरक्ष कार्यालयले जनाएको छ। आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार अनुमति लिएका सबै वन्यजन्तुको सिकार भने हुन सकेन। प्राविधिक समस्या, मौसममा आएको परिवर्तन, सिकारी बिरामी हुनु तथा निसाना चुक्नुलगायत कारणले केही नाउर र झारलको सिकार हुन नसकेको हो।
ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार सिकारका क्रममा गोलीगोठ्ठामा समस्या देखिनु, प्रतिकूल मौसम र अन्य प्राविधिक कारणले पनि अनुमति पाएका केही वन्यजन्तु सिकार हुनबाट बचेका हुन्। ढोरपाटनमा कानुनी रूपमा सिकार गर्न पाइने भएकाले अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिकोलगायत मुलुकबाट विदेशी सिकारी आउने गरेका छन्। उनीहरू विभिन्न व्यावसायिक सिकार कम्पनीमार्फत प्रतिस्पर्धामा सहभागी भएर अनुमति लिने गर्छन्।
सिकारका लागि आरक्षलाई सातवटा ब्लकमा विभाजन गरिएको छ। सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह ब्लकमा तोकिएको कोटाअनुसार सिकार गराइन्छ। सिकारीको टोली हेलिकप्टरमार्फत आरक्ष क्षेत्रमा पुग्ने गर्छ। सिकार अवधिमा नेपाली सेना, आरक्षका कर्मचारी तथा सहयोगी टोली पनि सँगै रहने गर्छन्। एक जना सिकारीले करिब १५ दिनको अवधिमा २० लाखदेखि ३५ लाख रुपैयाँसम्म खर्च गर्ने गरेको आरक्ष कार्यालयले जनाएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वन्यजन्तुको संख्या र अवस्थाका आधारमा हरेक वर्ष सिकारको कोटा निर्धारण गर्दै आएको छ। विद्युतीय बोलपत्रमार्फत सिकारको कोटा र राजस्व दर तय गर्ने व्यवस्था रहेको छ। २०३९ सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको १ हजार ३२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।
