जनताको अपार समर्थन पाए पनि कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौँ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न सहकार्य, एकता र पुनर्गठन आवश्यक रहेको बताएका छन्।

‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले मुलुकको वर्तमान राजनीतिक परिस्थिति असाधारण रहेको र राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा परेको दाबी गरे। उनले लामो संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि जोखिममा परेको भन्दै विभिन्न साम्राज्यवादी तथा प्रतिक्रियावादी शक्तिको दबाब र हस्तक्षेप बढिरहेको बताए। यस्तो अवस्थामा विचार र राजनीतिक दृष्टिकोण मिल्ने कम्युनिस्ट शक्तिहरूबीच पार्टी एकता गर्नुपर्ने तथा समान मुद्दामा सहमति राख्ने शक्तिहरूबीच सहकार्य र मोर्चा निर्माण आवश्यक रहेको उनको भनाइ छ।

प्रचण्डले विगतमा शान्ति, संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सहकार्य गरेका शक्तिहरूलाई पनि अहिलेको परिस्थितिले पुनः एक ठाउँमा उभिनुपर्ने अवस्था सिर्जना गरेको बताए। आफूहरूमध्ये धेरैजना विगतमा एउटै पार्टीका सहयोद्धा रहेको स्मरण गर्दै उनले बदलिँदो राजनीतिक परिस्थितिले सबैलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको बताए। कम्युनिस्ट आन्दोलन कुनै समय उर्वर रूपमा अघि बढे पनि अहिले रक्षात्मक अवस्थामा पुग्नुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने समय आएको प्रचण्डले बताए। इतिहास, वर्ग संघर्ष र राजनीतिक घटनाक्रमले कम्युनिस्ट नेताहरूलाई विगतका कमजोरी पहिचान गर्ने ठाउँमा ल्याइपुर्‍याएको उनको भनाइ छ।

गत भदौ २३ र २४ गतेका घटनाले प्रतिक्रान्तिको गम्भीर स्वरूप देखाएको उल्लेख गर्दै प्रचण्डले त्यसबाट समेत पाठ सिकेर कम्युनिस्ट शक्तिले आफ्ना कमजोरीको समीक्षा गर्नुपर्ने बताए। उनले नेपाली जनताले कम्युनिस्ट शक्तिलाई पटक–पटक ठूलो समर्थन र विश्वास दिएको स्मरण गरे। निर्वाचनमार्फत अत्यधिक मत प्राप्त गर्नुका साथै राजनीतिक संघर्ष र बलिदानमा समेत जनताको सहभागिता रहे पनि प्राप्त उपलब्धि र कम्युनिस्ट आन्दोलनलाई जोगाउन नसक्नु गम्भीर प्रश्न भएको उनले बताए। ‘नेपाली जनताको अपार समर्थन हुँदाहुँदै पनि कम्युनिस्ट आन्दोलन र उपलब्धिलाई हामीले किन जोगाउन सकेनौँ ? यो गम्भीर प्रश्न हो,’ प्रचण्डले भने।

उनले कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले विगतका कमजोरीको गहिरो समीक्षा गर्दै मुख्य त्रुटि कहाँ भयो भन्ने निष्कर्षमा पुग्नुपर्ने बताए। आफ्ना कमजोरी पहिचान नगरी गरिने एकता दीर्घकालीन हुन नसक्ने भन्दै प्रचण्डले कम्युनिस्ट शक्तिबीच एकता कायम गर्न पनि आत्मसमीक्षा अनिवार्य रहेको बताए। ‘त्रुटि कहाँ भयो र मुख्य कमजोरी के थियो भन्ने निष्कर्षमा नपुगी कम्युनिस्ट शक्तिबीच एकता हासिल गर्न र त्यसलाई दिगो बनाउन कठिन हुन्छ,’ उनले भने।

Back To Top
Modern Footer Design