काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक गम्भीर तथा असामान्य परिस्थितिबाट गुज्रिरहेको दाबी गर्दै राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र नागरिकले उपभोग गर्दै आएको लोकतान्त्रिक अधिकारको क्षेत्र संकटमा परेको बताएका छन्।
‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले ठूलो जनादेशसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार बने पनि पछिल्ला पाँच महिनाका गतिविधिले सरकार निर्वाचित अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए। उनले वर्तमान सरकारले लोकतान्त्रिक संस्थाबीचको सन्तुलन र संवादलाई कमजोर बनाउँदै लगेको दाबी गरे। राष्ट्रपति संस्थाको भूमिकालाई महत्व नदिएको, संसद्लाई प्रभावहीन बनाइएको तथा आफ्नै सरकार निर्माणमा भूमिका खेलेको राजनीतिक शक्तिसँग समेत पर्याप्त संवाद नभएको उनको आरोप छ।
ज्ञवालीले न्यायालय, अन्य राजनीतिक दल तथा सञ्चारमाध्यमसँगको संवाद र सहकार्यलाई समेत सरकारले प्राथमिकता नदिएको बताए। लोकतान्त्रिक संस्थाहरूलाई क्रमशः किनारामा पार्दै सरकार ‘बेलगाम घोडाझैँ’ अधिनायकवादको बाटोतर्फ अघि बढिरहेको उनको टिप्पणी थियो। उनका अनुसार पछिल्लो निर्वाचनमा रास्वपाले झण्डै दुईतिहाइको जनादेश प्राप्त गरेको छ। तर, संसद्भित्रबाट सरकारको सम्भावित अधिनायकवादी प्रवृत्तिलाई नियन्त्रण गर्ने बलियो राजनीतिक शक्ति नरहेको उनले बताए।
ज्ञवालीले प्रतिनिधिसभामा संविधान निर्माण प्रक्रियामा भूमिका खेलेका राजनीतिक शक्तिहरूको समेत एकतिहाइ संख्या नरहेको उल्लेख गर्दै वर्तमान शक्ति सन्तुलन आफूहरूका लागि प्रतिकूल रहेको धारणा राखे। उनले लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन राजनीतिक दलहरूबीच संवाद र सहकार्य आवश्यक रहेको बताए। सरकारसँग असहमति राख्ने शक्तिहरूबीच समेत लोकतान्त्रिक मूल्य, संविधान र नागरिक अधिकारको संरक्षणका विषयमा साझा धारणा निर्माण गर्नुपर्ने उनको भनाइ छ। ज्ञवालीले रास्वपाले चितवनमा सम्पन्न महाधिवेशनबाट ‘सामाजिक प्रजातन्त्र’ (सोसल डेमोक्रेसी) लाई आफ्नो राजनीतिक दर्शनका रूपमा अघि सारेको समेत उल्लेख गरे।
