काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कुष्ठरोग प्रभावित व्यक्तिमाथि भेदभाव गर्नु र उनीहरूलाई अधिकारबाट वञ्चित गर्नु सामाजिक अन्याय भएको बताएकी छन्।
आइतबार काठमाडौंमा आयोजित कुष्ठ प्रभावित व्यक्तिहरूको कानुनी साक्षरता तथा क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै डंगोलले कुष्ठरोगलाई व्यक्तिको पहिचान नभई स्वास्थ्यसम्बन्धी अवस्था मात्रका रूपमा बुझ्नुपर्नेमा जोड दिइन्। उनले समाजमा कुष्ठरोगभन्दा पनि रोगप्रति मानिसले गर्ने व्यवहार ठूलो समस्या बनेको बताइन्। कुष्ठरोग प्रभावित व्यक्तिलाई अपमान गर्ने, विभेद गर्ने वा सामाजिक तथा कानुनी अधिकारबाट वञ्चित गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।
डंगोलले कुष्ठरोगबारे गलत धारणा र डर हटाउन रोग नलागेका व्यक्तिलाई समेत सचेत गराउन आवश्यक रहेको बताइन्। समयमै रोग पहिचान र उपचारका विषयमा जनचेतना फैलाउनुपर्नेमा उनले जोड दिइन्। उनले कुष्ठरोग प्रभावित व्यक्तिको अधिकार संरक्षणका लागि विद्यमान कानुनमा रहेका विभेदकारी व्यवस्था पहिचान गरी आवश्यक संशोधनका लागि सुझाव दिनसमेत आग्रह गरिन्।
‘कुष्ठरोग लागेको व्यक्तिलाई अपमान गर्नु, विभेद गर्नु र अधिकारबाट वञ्चित गर्नु सामाजिक अन्याय हो। यस्तो अन्याय हो भन्ने कुरा धेरैभन्दा धेरै नागरिकलाई बुझाउन आवश्यक छ,’ डंगोलले भनिन्। उनले कुष्ठरोगसम्बन्धी सामाजिक सचेतना अभिवृद्धिका लागि काठमाडौं महानगरपालिका सरोकारवाला निकायसँग सहकार्य गर्न तयार रहेको पनि बताइन्। डंगोलले कानुनी साक्षरता तथा क्षमता अभिवृद्धि कार्यक्रमबाट प्राप्त ज्ञानलाई आफूमा मात्र सीमित नराखी समुदायसम्म पुर्याउन कुष्ठरोग प्रभावित व्यक्तिहरूलाई आग्रह गरिन्।
