काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षामा राज्यको लगानी थप वृद्धि गर्न आवश्यक रहेको बताएका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका क्रममा आयोजना गरेको ‘विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था’ विषयक परामर्श–गोष्ठीमा बोल्दै मन्त्री पोखरेलले शिक्षामा कुल राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत लगानी गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको उल्लेख गरे। उनका अनुसार नेपालमा हाल कुल बजेटको ११ प्रतिशतभन्दा कम मात्र शिक्षामा विनियोजन हुँदै आएको छ। शिक्षाका लागि थप ५ अर्ब रुपैयाँ बजेट छुट्याइसकिएको र चालु आर्थिक वर्षमा शिक्षाको बजेट अझै बढ्न सक्ने उनले बताए।
मन्त्री पोखरेलले विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्दा विद्यार्थी, विद्यालय तथा संघ, प्रदेश र स्थानीय तहबाट आएका सुझावलाई प्राथमिकताका साथ समेट्नुपर्ने बताए। परामर्शका क्रममा विद्यार्थीका विषय र आवाजलाई केन्द्रमा राखेर सुझावहरू आएको भन्दै उनले सहभागीहरूलाई धन्यवाद दिए। विगतको तुलनामा यसपटक विद्यार्थीका धारणा बढी प्राथमिकतामा परेको उनको भनाइ थियो।
उनले भने, ‘विगतमा विद्यार्थीको आवाज कम सुन्ने गरिएको थियो भने अहिले विद्यार्थीका विषयमा बढी छलफल भएको छ। विद्यार्थी र विद्यालयलाई केन्द्रमा राखेर सुझाव दिनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु।’ मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। तीनै तहका सरकारका अधिकार र जिम्मेवारी स्पष्ट पार्दै शिक्षाको क्षेत्रमा आपसी तालमेल बढाउन आवश्यक रहेको उनले बताए। विद्यालय व्यवस्थापन, पाठ्यक्रम विकास तथा समग्र शिक्षा नीतिसम्बन्धी विषयमा सरोकारवालाको सुझाव समेटेर विद्यालय शिक्षा विधेयकलाई अघि बढाउने सरकारको तयारी रहेको मन्त्री पोखरेलले जानकारी दिए।
