रास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर अध्ययन गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार र बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विगतमा छुटेका राजनीतिक तथा संगठनात्मक विषयको अध्ययन र समीक्षा आवश्यक रहेको बताएका छन्।

रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले पार्टी छोटो समयमै तीव्र गतिमा अघि बढेको भए पनि त्यसक्रममा छुटेका कतिपय राजनीतिक पाठ र अनुभवलाई अब फर्केर अध्ययन गर्नुपर्ने बताए। उनले रास्वपा स्थापनाकालदेखि नै नयाँ र सक्षम राजनीतिक शक्तिका रूपमा अघि बढेको उल्लेख गर्दै तीव्र गतिमा अघि बढ्दा छुटेका विषयलाई बेवास्ता गर्न नहुने बताए। पार्टी सरकारसम्म पुगिसकेको अवस्थामा विगतका अनुभव र कमजोरीबाट सिक्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो।

लामिछानेले राजनीतिक दललाई दीर्घकालसम्म बलियो बनाउन नीति, विधि, अनुशासन र संगठनात्मक अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताए। पार्टीभित्रै अध्ययन, प्रशिक्षण र राजनीतिक संस्कार विकास गर्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए। उनका अनुसार पहिलो महाधिवेशनबाट निर्वाचित तथा हालै जिम्मेवारी पाएका नेताहरूको दायित्व आगामी पुस्ताका नेतृत्वभन्दा अझ महत्वपूर्ण छ। पार्टीको जग निर्माण गर्ने चरणमा रहेकाले संस्थापक तथा प्रारम्भिक नेतृत्वले पार्टीको भविष्यलाई ध्यानमा राखेर बढी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनले बताए।

‘हामी अहिले पार्टीको जग बसाल्ने चरणमा छौँ। स्थापनाकालदेखि साथमा रहेका साथी, संस्थापक तथा पहिलो महाधिवेशनबाट निर्वाचित नेतृत्वको जिम्मेवारी पार्टीको भविष्यसँग जोडिएको छ,’ उनले भने। लामिछानेले रास्वपा कसरी स्थापना भयो भन्ने विषयमा सार्वजनिक रूपमा बारम्बार स्पष्टीकरण दिइरहन आवश्यक नरहेको बताए। पार्टीमा आइसकेपछि आफूहरूले कस्तो काम गरिरहेका छन् भन्ने विषयमा जनता र अन्तर्राष्ट्रिय समुदायले मूल्यांकन गरिरहेको उनको भनाइ थियो।

‘हामी कसरी आयौँ भन्ने हिसाब–किताब चोकचौतारामा दिँदै हिँड्न आवश्यक छैन। अहिले आएर हामी के गर्दैछौँ भन्ने कुरा आमनागरिक र विश्व समुदायले हेरिरहेको छ,’ उनले भने। उनले पछिल्लो समय राजनीतिक दलका गतिविधि केवल राष्ट्रिय सीमाभित्र सीमित नरहेको पनि बताए। एउटा स्थानमा भएका राजनीतिक निर्णय र गतिविधिको प्रभाव विश्वका अन्य ठाउँसम्म पर्न सक्ने भएकाले नेतृत्वले अन्तर्राष्ट्रिय परिवेश र त्यसको प्रभावबारे समेत सचेत हुनुपर्ने उनको भनाइ थियो। लामिछानेले पार्टीको नीति, संगठन र नेतृत्वलाई व्यवस्थित गर्दै विगतका अनुभवबाट सिकेर अघि बढ्न सके रास्वपालाई दीर्घकालीन रूपमा प्रभावशाली राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सकिने बताए।

Back To Top
Modern Footer Design