काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री सीता गुरुङले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि खुला प्रतिस्पर्धा गर्ने भएकी छन्। लामो समयदेखि कांग्रेसको संगठन र नेतृत्वमा सक्रिय गुरुङले यसपटक महिला कोटाको सट्टा समावेशी खुला समूहबाट उम्मेदवारी दिने तयारी गरेकी हुन्।
महिलाका लागि छुट्याइएको ३३ प्रतिशत प्रतिनिधित्वको अवसर आफूजस्ता स्थापित नेतृले मात्रै प्रयोग गरिरहनुभन्दा नयाँ पुस्ताका महिलालाई नेतृत्वमा अघि बढाउनुपर्ने गुरुङको धारणा छ। त्यसैकारण आफू खुला प्रतिस्पर्धामा आएको उनले बताएकी छन्। गुरुङका अनुसार महिला सहभागिताका लागि गरिएको संवैधानिक तथा पार्टीगत व्यवस्था केवल प्रतिनिधित्व सुनिश्चित गर्ने माध्यम मात्र नभई नयाँ पुस्ताका महिलालाई नेतृत्वमा विकास गर्ने अवसर पनि हो। लामो समयदेखि पार्टीमा स्थापित महिलाहरू खुला प्रतिस्पर्धामा आउँदा महिला कोटाबाट नयाँ पुस्तालाई नेतृत्वमा पुग्ने बाटो सहज हुने उनको तर्क छ।
यही सोचअनुसार गुरुङले कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेकी हुन्। गुरुङको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएर पार्टी संगठन, महिला तथा आदिवासी जनजातिको आन्दोलन, संविधानसभा, संसद् हुँदै सरकारसम्म पुगेको छ। तेह्रथुममा कांग्रेसले लामो समयसम्म निर्वाचन जित्न नसकेको अवस्थामा गुरुङले प्रत्यक्ष निर्वाचनमार्फत पार्टीलाई जित दिलाएकी थिइन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित हुँदै उनले जिल्लामा कांग्रेसको राजनीतिक इतिहासमा महत्वपूर्ण उपलब्धि हासिल गरेकी थिइन्।
यसअघि २०६४ सालमा उनी संविधानसभा सदस्य बनेकी थिइन्। संविधान निर्माणका क्रममा राज्यको शासकीय स्वरूप निर्धारण समिति तथा अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिमा रहेर उनले काम गरेकी थिइन्। सरकारमा पनि गुरुङले विभिन्न जिम्मेवारी सम्हालेकी छन्। २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी उनी २०७९ सालमा सहरी विकासमन्त्रीको जिम्मेवारीमा पुगेकी थिइन्।
विद्यार्थी राजनीतिबाट केन्द्रीय नेतृत्वसम्म
तेह्रथुममा जन्मिएकी गुरुङ २०४६ सालको जनआन्दोलनदेखि नै राजनीतिक गतिविधिमा सक्रिय भएकी थिइन्। नेपाल विद्यार्थी संघमार्फत विद्यार्थी राजनीतिमा प्रवेश गरेपछि उनको पार्टी संगठनमा सक्रियता क्रमशः बढ्दै गएको थियो। २०६७ सालमा कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेकी उनी त्यसपछि महासमिति सदस्य हुँदै केन्द्रीय राजनीतिमा स्थापित भएकी हुन्। २०७२ सालको १३औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएकी गुरुङ २०७८ सालको १४औँ महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भइन्।
उनले पार्टीको आदिवासी जनजाति विभाग प्रमुख तथा १४औँ महाधिवेशनमा सांस्कृतिक समितिको संयोजकको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्। त्यसअघि नेपाल महिला संघ तेह्रथुमको जिल्ला सदस्य हुँदै सभापति र केन्द्रीय सचिवसम्मको जिम्मेवारीमा रहेकी गुरुङ नेपाल तरुण दल तेह्रथुमको जिल्ला कोषाध्यक्षसमेत भएकी थिइन्।
‘महिला कोटा नयाँ पुस्ताका लागि’
गुरुङको उम्मेदवारीको मुख्य सन्देश महिला नेतृत्व विकाससँग जोडिएको छ। पार्टीमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था आवश्यक भए पनि त्यसको लाभ स्थापित नेतृहरूले मात्रै पटक–पटक लिने अवस्था अन्त्य हुनुपर्ने उनको धारणा छ। महिला कोटालाई नयाँ पुस्ताका महिलाको नेतृत्व विकासका लागि उपयोग गर्नुपर्ने सोचका साथ आफू खुला प्रतिस्पर्धामा आएको उनले बताएकी छन्।
उनको उम्मेदवारीलाई महिला आरक्षणको व्यवस्थाविरुद्धको कदमका रूपमा नभई त्यसबाट नयाँ पुस्ताका महिलाले पनि अवसर पाउने वातावरण बनाउन खोजिएको प्रयासका रूपमा प्रस्तुत गरिएको छ। महिला, आदिवासी जनजाति, नयाँ पुस्ता र पार्टी संगठनमा हासिल गरेको अनुभवलाई आधार बनाउँदै गुरुङले कांग्रेसको उपसभापति पदमा आफ्नो दाबी अघि सारेकी छन्। उनले महाधिवेशन प्रतिनिधिहरूसँग आफ्नो उम्मेदवारीका लागि साथ, सहयोग, सद्भाव र मतको अपेक्षा गरेकी छन्।
