विशेष महाधिवेशनपछि पनि कांग्रेस ‘रनवे’मै, अब ‘रूपान्तरणको पनि रूपान्तरण’ चाहिन्छ : शंकर तिवारी

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार शंकर तिवारीले विशेष महाधिवेशनपछि पनि पार्टीमा अपेक्षित परिवर्तन आउन नसकेको बताएका छन्। उनले कांग्रेसलाई नयाँ दिशामा अघि बढाउन अब ‘रूपान्तरणको पनि रूपान्तरण’ आवश्यक रहेको बताएका हुन्।

बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै तिवारीले विशेष महाधिवेशनबाट पार्टी रूपान्तरणको बहस सुरु भए पनि व्यवहारमा त्यसअनुसारको परिवर्तन देखिन नसकेको टिप्पणी गरे। कांग्रेस अझै पनि पुरानै अवस्थामा अल्झिएको उनको भनाइ छ। कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार रहेका तिवारीले पूर्ण महाधिवेशन सम्पन्न गर्दै पार्टीलाई स्पष्ट नीति र नयाँ कार्यक्रमसहित अघि बढाउनुपर्नेमा जोड दिए। सही नीति निर्माणमार्फत पार्टी सभापति गगन थापाको नेतृत्वलाई थप प्रभावकारी बनाउनुपर्ने उनको धारणा छ।

उनले कांग्रेसका नयाँ महाधिवेशन प्रतिनिधिमध्ये ठूलो हिस्सा युवा पुस्ताको रहेको बताए। करिब ७० देखि ७२ प्रतिशत नयाँ प्रतिनिधि आएको र तीमध्ये अधिकांश ४५ वर्षमुनिका रहेको उल्लेख गर्दै तिवारीले केन्द्रीय पदाधिकारीमा पनि युवाको बलियो र अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने बताए। तिवारीले महामन्त्री पदलाई आफूले केवल जिम्मेवारीका रूपमा नभई पार्टी रूपान्तरणको माध्यमका रूपमा लिएको बताए। बीपी कोइरालाको विचारबाट प्रेरित भएर नयाँ कार्यक्रम र नीतिसहित कांग्रेसलाई अघि बढाउने आफ्नो योजना रहेको उनले स्पष्ट पारे।

पार्टीभित्र देखिएको असन्तुष्टि र नयाँ पुस्ताको छटपटीलाई सही राजनीतिक दिशामा लैजान आफूले उम्मेदवारी दिएको उनको भनाइ छ। उनले महामन्त्रीको प्रतिस्पर्धाबाट पछि नहट्ने र अन्तिमसम्म मैदानमा रहने दाबी गरे। कांग्रेसमा पदाधिकारी दोहोर्‍याउने अभ्यास नरहेको उल्लेख गर्दै तिवारीले आफू नयाँ पुस्ताको प्रतिनिधि भएकाले नेतृत्वमा अवसर पाउनुपर्ने बताए। आफू अहिलेसम्म ‘टेस्टेड’ नभएको भन्दै उनले नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राखे।

देशभरका महाधिवेशन प्रतिनिधिको साथ र समर्थनबाट आफू महामन्त्रीमा विजयी हुनेमा ढुक्क रहेको तिवारीले बताए। केन्द्रीय कार्यसमितिमा नरहे पनि पार्टीका निर्णय कार्यान्वयन तथा नीतिगत बहसमा आफू निरन्तर सक्रिय रहेको उनको दाबी छ। सभापति गगन थापासँग नजिक रहेका नेताका रूपमा समेत चिनिएका तिवारीले महामन्त्रीमा निर्वाचित भएपछि कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

Back To Top
Modern Footer Design