दशैँ–तिहारमा यातायात व्यवस्थापन कडा, अग्रिम टिकटदेखि सवारी जाँचसम्मको तयारी

काठमाडौँ । बडादशैँ नजिकिएसँगै सरकारले चाडपर्वको समयमा हुने यात्रु चापलाई व्यवस्थापन गर्न यातायात क्षेत्रको तयारी तीव्र पारेको छ।

दशैँ, तिहार र छठलाई लक्षित गर्दै यात्रुलाई सुरक्षित र सहज रूपमा गन्तव्यसम्म पुर्‍याउने उद्देश्यले सरकार र यातायात व्यवसायीबीच विभिन्न निर्णय भएका छन्। यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवालाको बैठकले मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गर्ने निर्णय गरेको छ। यसबाट दशैँमा घर जाने यात्रुलाई अग्रिम रूपमा टिकट लिन सहज हुने अपेक्षा गरिएको छ।

यात्रु आवागमनलाई व्यवस्थित बनाउन घटस्थापना अर्थात् असोज २५ गतेदेखि कात्तिक ८ गते पूर्णिमासम्म नारायणगढ–काठमाडौँ सडकखण्डमा ट्रेलरलगायत ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको छ। यद्यपि खाद्यान्न, औषधि, फलफूललगायत अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई भने प्रचलित कानुनअनुसार आवतजावतमा रोक नलगाइने भएको छ।

त्यसैगरी यात्रुवाहक सार्वजनिक सवारीका लागि घटस्थापनादेखि कात्तिक १० गतेसम्म देशभर लामो तथा मध्यम दूरीका रुट परमिट खुला गरिने भएको छ। तर सडकको अवस्थाका कारण निश्चित आकार वा प्रकारका सवारी सञ्चालन गर्न रोक लगाइएका मार्गमा भने उक्त प्रतिबन्ध कायमै रहनेछ। काठमाडौँ उपत्यकाका प्रमुख प्रवेश नाकामा रहेका यात्रु सहायता कक्षलाई थप प्रभावकारी बनाउन यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको सहजीकरण टोली परिचालन गर्ने भएको छ। यातायात व्यवसायीका तर्फबाट पनि सम्पर्क व्यक्ति खटाइने निर्णय भएको छ।

दशैँको समयमा नयाँ बसपार्क क्षेत्रमा मोबाइल नेटवर्कमा अत्यधिक चाप हुने भएकाले नेपाल टेलिकमसहित अन्य सेवा प्रदायकलाई नेटवर्क क्षमता विस्तार तथा सुधारका लागि पत्राचार गर्ने निर्णयसमेत भएको छ। रिजर्भमा सञ्चालन हुने सवारी साधनको विवरण र यात्रुको अभिलेख अनिवार्य गर्ने तयारी पनि गरिएको छ। त्यसका लागि विभागले नमुना ढाँचा तयार गरी यातायात व्यवसायीलाई उपलब्ध गराउने र व्यवसायीले यात्रु तथा सवारीको आवश्यक विवरण प्रविष्ट गरेपछि मात्रै रिजर्भ सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिने भएको छ।

यसैगरी चाडपर्वका बेला सडकमा सञ्चालन हुने सवारी साधनको अवस्था सुरक्षित भए–नभएको सुनिश्चित गर्न फिटनेस परीक्षणलाई पनि प्राथमिकता दिइएको छ। सवारीको फिटनेस जाँचका लागि नाडा तथा सिप्रदीलाई अनुरोध गर्ने र यातायात व्यवस्था विभागअन्तर्गतको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी परिचालन गर्ने तयारी छ। हरेक वर्ष दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट करिब १५ देखि २० लाख यात्रु बाहिरिने गरेका छन्। ठूलो संख्यामा यात्रु बाहिरिने भएकाले यसपटक पनि टिकट व्यवस्थापन, सवारी परीक्षण, रुट सञ्चालन तथा यात्रु सहायता प्रणालीलाई व्यवस्थित बनाउने तयारी गरिएको हो।

Back To Top
Modern Footer Design