काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिलाई लिएर संसदीय सुनुवाइ समितिमा स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेको छ।
जापानमा उनको घरजग्गा र परिवारसमेत रहेको विषयलाई लिएर सांसदहरूले नेपालको हितमा काम गर्न सक्ने आधारबारे जिज्ञासा राखेका हुन्।बुधबार समितिमा भएको सुनुवाइका क्रममा नेकपाका नेता वर्षमान पुनले थापाको जापानसँग रहेको व्यक्तिगत सम्बन्ध र सम्पत्तिका विषयमा प्रश्न उठाए। जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको विषयमा उजुरी परेको र आफूले पीआर त्यागेको जवाफ आएको उल्लेख गर्दै पुनले त्यहाँ घरजग्गा र परिवारसमेत रहेको अवस्थामा राजदूतका रूपमा नेपालको हितलाई कसरी प्राथमिकतामा राख्नुहुन्छ भन्ने प्रश्न गरे।
पुनले नियुक्त हुने देशसँग व्यक्तिगत स्वार्थ नबाझियोस् भन्ने मान्यता रहेको बताउँदै स्वार्थको द्वन्द्व हुन सक्ने अवस्थामा अन्य देशमा नियुक्तिका लागि विचार गर्न सकिने आशयसमेत व्यक्त गरे। त्यस्तै, सांसद राजीव खत्रीले पनि जापानमा सम्पत्ति रहेको विषयसँग जोडेर स्वार्थ बाझिने सम्भावनाबारे स्पष्ट जवाफ मागे। अर्का सदस्य प्रेम दंगालले थापाविरुद्ध परेका उजुरीमध्ये पीआर नत्यागेको भन्ने विषय पनि रहेको उल्लेख गर्दै उनी राजदूतका रूपमा कार्यकाल पूरा गरेपछि नेपाल फर्किने कि जापानमै बस्ने भन्ने प्रश्न गरे।
थापा करिब २५ वर्ष जापानमा बसेको र सन् २०१८ मा पीआर लिएको विषय सुनुवाइका क्रममा उठाइएको थियो। सांसदहरूले नियुक्त हुने मुलुकसँग व्यक्तिगत सम्बन्ध वा सम्पत्ति हुनु मात्रैभन्दा पनि त्यसले नेपालको प्रतिनिधित्व र राष्ट्रिय हितमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा स्पष्टता खोजेका छन्।
