काठमाडौँ । सुडानको दक्षिणपूर्वी क्षेत्रमा पर्ने ब्लु नाइल राज्यका दुई सहरमा भएका ड्रोन आक्रमणमा परी कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको छ । घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् ।
प्रत्यक्षदर्शी तथा स्वयंसेवी संस्थाहरूका अनुसार मंगलबार बिहानदेखि सुरु भएको आक्रमण साँझसम्म जारी रहेको थियो । दमाजिन सहरका आवासीय क्षेत्रमा साँझपख चारवटा ड्रोनबाट आक्रमण हुँदा ठूलो मानवीय क्षति भएको बताइएको छ ।
स्वयंसेवी मानव अधिकार समूह ‘इमर्जेन्सी लयर्स’ले दमाजिनका विभिन्न बस्तीमा भएको आक्रमणमा १९ जनाको मृत्यु र १५ जना घाइते भएको जनाएको छ । मृत्यु हुनेमा तीन परिवारका सदस्य तथा छ जना महिला रहेको समूहको भनाइ छ ।
यसैबीच, अल–रोसेरेस सहरमा रहेका बाँध, विद्युत् उत्पादन केन्द्र तथा अन्य विद्युतीय संरचनालाई समेत ड्रोनबाट निशाना बनाइएको जनाइएको छ । यी आक्रमणमा अर्धसैनिक बल ‘¥यापिड सपोर्ट फोर्सेस’ (आरएसएफ) संलग्न रहेको इमर्जेन्सी लयर्सले आरोप लगाएको छ ।
अर्को स्वयंसेवी संस्था ‘सुडान डक्टर्स नेटवर्क’ले पनि आक्रमणमा आरएसएफको संलग्नता रहेको दाबी गरेको छ । संस्थाका अनुसार घटनामा १७ जना सर्वसाधारणको मृत्यु भएको छ भने १४ जनाभन्दा बढी घाइते भएका छन् । आक्रमणमा परेका सर्वसाधारण आफ्नै घरभित्र तथा घर आसपासका क्षेत्रमा रहेको संस्थाले उल्लेख गरेको छ ।
आवासीय बस्ती र अत्यावश्यक पूर्वाधारलाई निशाना बनाउँदा नागरिकको ज्यान जोखिममा परेको र आधारभूत सेवा प्रभावित हुन सक्ने भन्दै संस्थाले चिन्ता व्यक्त गरेको छ । साथै, संयुक्त राष्ट्रसंघ, राष्ट्रसंघीय मानवअधिकार परिषद् तथा सम्बन्धित अन्तर्राष्ट्रिय निकायलाई घटनाको निष्पक्ष अनुसन्धान गर्न, प्रमाण संकलन गर्न र दोषीलाई जवाफदेही बनाउन आग्रह गरिएको छ ।
सुडानमा सन् २०२३ अप्रिलदेखि सरकारी सेना र अर्धसैनिक बल आरएसएफबीच सशस्त्र संघर्ष जारी छ । लामो समयदेखि चलिरहेको द्वन्द्वका कारण दशौँ हजार मानिसले ज्यान गुमाइसकेका छन् भने लाखौँ नागरिक विस्थापित भएका छन् । विस्थापितमध्ये धेरैले देशभित्रै सुरक्षित स्थान खोज्नुपरेको छ भने केहीले देश छाडेर अन्यत्र शरण लिन बाध्य भएका छन् ।
