काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘वरिष्ठ नेता’ पदलाई पार्टीको विधानमै समावेश गर्ने निर्णय गरेको छ। बिहीबार केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त पदलाई औपचारिक रूपमा विधानमा राख्ने निर्णय गरेको हो।
उक्त पद स्थानीय तह निर्वाचनअघि बालेन शाहलाई पार्टीमा भित्र्याउने प्रयासका क्रममा सिर्जना गरिएको थियो। त्यसबेला सभापति रवि लामिछानेपछि दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको व्यवस्था गरिएको थियो। अब सो पदलाई पार्टीको स्थायी संरचनाभित्र समेट्ने तयारी गरिएको छ। यसअघि विधान संशोधन समितिले तयार पारेको प्रतिवेदनमा वरिष्ठ नेता पदको प्रस्ताव समावेश गरिएको थिएन। उक्त विषय पार्टी नेतृत्वको निर्णयमा छाडिएको थियो। सोहीअनुसार सचिवालय बैठकले विधान संशोधनमार्फत पदलाई कायम राख्ने निर्णय गरेको हो।
बैठकले पार्टीको केन्द्रीय समितिको आकार पनि विस्तार गर्ने निर्णय गरेको छ। हाल १२१ सदस्यीय रहेको केन्द्रीय समितिलाई बढाएर १५१ सदस्यीय बनाइने भएको छ। संशोधन समितिले भने १३६ सदस्यीय संरचनाको प्रस्ताव गरेको थियो। त्यस्तै, पदाधिकारीको संख्या बढाएर १९ सदस्यीय बनाउने निर्णय पनि गरिएको छ। नयाँ संरचनाअनुसार एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष रहने व्यवस्था प्रस्ताव गरिएको छ।
