काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेलले पार्टीको केन्द्रीय सदस्य पदका लागि खुलातर्फ उम्मेदवारी दर्ता गरेका छन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले पार्टीभित्र आफ्नो पक्षमा सकारात्मक वातावरण रहेको दाबी गरे। आफूले भेटेका अधिकांश प्रतिनिधि तथा कार्यकर्ताले समर्थन गर्ने आश्वासन दिएको उल्लेख गर्दै उनले महाधिवेशनको माहोल उत्साहजनक रहेको बताए। खरेलले संसदीय व्यवस्थामा राजनीतिक दल र सरकारबीचको सम्बन्ध निकै महत्वपूर्ण हुने बताए। सरकारको कार्यदिशा र नीति राजनीतिक दलले तय गर्ने एजेन्डाबाट प्रभावित हुने भएकाले दललाई बलियो, व्यवस्थित र जिम्मेवार बनाउनु आवश्यक रहेको उनको भनाइ थियो।
उनले रास्वपा छोटो समयमै राष्ट्रिय राजनीतिको प्रभावशाली शक्तिका रूपमा स्थापित भएको उल्लेख गर्दै अब पार्टीलाई थप परिपक्व र संस्थागत बनाउनुपर्ने आवश्यकता औंल्याए। महाधिवेशनबाट सक्षम, योग्य र दूरदर्शी नेतृत्व चयन हुनेमा आफू विश्वस्त रहेको उनले बताए। खरेलले पार्टी सभापति रवि लामिछानेले बारम्बार देशको समृद्धिसँग रास्वपाको भूमिकालाई जोड्ने गरेको स्मरण गर्दै पार्टीको सफलता र असफलताले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने धारणा व्यक्त गरे। ‘रास्वपाले बोकेको उद्देश्य र एजेन्डा देशको भविष्यसँग जोडिएको छ। त्यसैले पार्टी कमजोर भए त्यसको असर केवल संगठनमा मात्र सीमित हुँदैन, समग्र राजनीतिक प्रणाली र देशमा पनि पर्न सक्छ,’ उनले भने। उनले महाधिवेशनलाई पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताउँदै यस प्रक्रियाबाट रास्वपा अझ बलियो, व्यवस्थित र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।
