चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशनमा दुग्ध विकास संस्थान (डीडीसी)का दुग्धजन्य उत्पादनले सहभागीहरूको विशेष ध्यान खिचेका छन्। महाधिवेशनस्थलमा मोही, दही, फ्लेभर मिल्क, आइसक्रिमलगायत उत्पादनको बिक्री उल्लेखनीय रूपमा बढेको छ। डीडीसी र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको स्टलमा विभिन्न दुग्ध सहकारी तथा डेरी उद्योगका उत्पादनहरू बिक्रीका लागि राखिएका छन्। गर्मी मौसमका कारण विशेषगरी मोहीको माग अत्यधिक रहेको डीडीसीका प्राविधिक संजीव यादवले जानकारी दिए।
उनका अनुसार मोहीले शरीरलाई शीतलता प्रदान गर्नुका साथै हाइड्रेसन कायम राख्न मद्दत गर्ने भएकाले महाधिवेशनमा सहभागीहरूको रोजाइमा परेको छ। केसरयुक्त फ्लेभर मिल्क र अन्य दुग्धजन्य पेय पदार्थको बिक्री पनि उत्साहजनक रहेको उनले बताए। महाधिवेशन सुरु भएदेखि नै बिक्रीमा उल्लेख्य वृद्धि भएको र हाल दैनिक औसत कारोबार एक लाख रुपैयाँभन्दा बढी पुगेको यादवको भनाइ छ। उपभोक्तालाई सहजता प्रदान गर्न डीडीसीले केही उत्पादनमा छुट मूल्यसमेत उपलब्ध गराएको छ। बजारमा ७० रुपैयाँ पर्ने मोही र केसर मिल्क ६० रुपैयाँमा तथा ३१० रुपैयाँ पर्ने लालमोहन पेडा २९० रुपैयाँमा बिक्री गरिएको छ।
बढ्दो मागका कारण आवश्यक परे नजिकका उत्पादन केन्द्र र आयोजनाबाट थप सामग्री ल्याएर आपूर्ति व्यवस्थापन गरिएको पनि उनले बताए। यादवका अनुसार स्वदेशी उत्पादन प्रवर्द्धन र ब्रान्डिङ अभियानले पनि डीडीसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण बढाउन मद्दत पुगेको छ। यसले किसान, उपभोक्ता र संस्थान सबैलाई सकारात्मक लाभ पुगेको उनको दाबी छ।
यता धनकुटाका व्यवसायिक कृषक तथा जिल्ला दुग्ध सङ्घका अध्यक्ष नारायणबहादुर कटुवालले महाधिवेशनमा डीडीसीका उत्पादनको बढ्दो मागलाई सकारात्मक संकेतका रूपमा लिएका छन्। उनले स्वदेशी दुग्धजन्य उत्पादनको प्रचार–प्रसार बढ्दै जाँदा बजार विस्तारमा सहयोग पुगेको बताए। कटुवालले विदेशी पेय पदार्थको तुलनामा नेपाली मोहीलगायत दुग्धजन्य वस्तु स्वास्थ्यका लागि लाभदायक रहेको उल्लेख गर्दै यस्ता उत्पादनको प्रयोग र बजार विस्तारलाई थप प्रोत्साहन गर्नुपर्ने धारणा राखे।
यद्यपि उनले दुग्ध क्षेत्रका पुराना समस्यातर्फ पनि सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार किसानले पाउनुपर्ने करिब ६ महिनाको भुक्तानी अझै बाँकी रहेको छ। डीडीसीको बजार विस्तारसँगै किसानको भुक्तानी समस्या समाधान गर्न सरकार र सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने उनले बताए। उनले डीडीसीलाई दीर्घकालीन रूपमा सबल र प्रतिस्पर्धी बनाउन वित्तीय सहयोग, संस्थागत सुधार तथा बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
रास्वपा महाधिवेशनमा सहभागी हजारौं प्रतिनिधि तथा कार्यकर्ताबीच डीडीसीका उत्पादनको बढ्दो लोकप्रियताले स्वदेशी दुग्धजन्य वस्तुप्रति उपभोक्ताको विश्वास र आकर्षण पुनः बलियो बन्दै गएको संकेत गरेको छ। साथै यस्ता कार्यक्रमले स्थानीय उत्पादनको प्रवर्द्धन र नेपाली डेरी उद्योगको ब्रान्ड निर्माणमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
