अमेरिका। विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः स्पेनसँगको हारसँगै टुंगिएको छ। फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा स्पेनसँग १–० ले पराजित भएपछि पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको हो। खेलको इन्जुरी समयमा मिकेल मेरिनोले गरेको गोल निर्णायक बन्दा रोनाल्डोको दुई दशकभन्दा लामो विश्वकप यात्रा भावुक अन्त्यमा पुगेको हो। ४१ वर्षीय रोनाल्डोले विश्वकप सुरु हुनुअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए। खेल सकिएपछि उनी भावुक हुँदै आँसु झारेका थिए। विश्वकप उपाधि जित्ने सपना पूरा नभए पनि उनले विश्व फुटबलमा बनाएको इतिहास भने सदैव स्मरणीय रहनेछ।
पोर्चुगलको माडेइरामा सामान्य परिवारमा जन्मिएका रोनाल्डोले स्थानीय क्लब एन्डोरिन्हाबाट फुटबल यात्रा सुरु गरेका थिए। त्यसपछि नासियोनाल हुँदै स्पोर्टिङ लिस्बनको युवा टोलीमा पुगेका उनी सन् २००३ मा म्यानचेस्टर युनाइटेडमा आबद्ध भए। प्रशिक्षक सर एलेक्स फर्गुसनको विश्वास जित्दै उनले विश्व फुटबलमा आफ्नो अलग पहिचान बनाए। सन् २००९ मा उनी रियल म्याड्रिड पुगे, जहाँ उनले क्लब इतिहासकै सर्वाधिक ४५१ गोल गर्दै चार पटक यूईएफए च्याम्पियन्स लिग, दुई पटक ला लिगा, दुई पटक कोपा डेल रे तथा चार पटक क्लब विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेले। त्यसपछि युभेन्टस र पुनः म्यानचेस्टर युनाइटेड हुँदै हाल उनी साउदी अरेबियाको अल–नासरबाट खेलिरहेका छन्।
रोनाल्डोले पाँच पटक ब्यालोन डीुओर जितेका छन् भने क्लब र राष्ट्रिय टोलीका लागि ९७६ गोल गरेका छन्। उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता हुन्। साथै, यूईएफए च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता तथा विश्व फुटबलका सर्वाधिक सफल खेलाडीमध्ये एकका रूपमा परिचित छन्। विश्वकपमा उनले सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६ गरी लगातार छ संस्करण खेले। सबै छ संस्करणमा गोल गर्ने पहिलो पुरुष खेलाडीको कीर्तिमान पनि उनले आफ्नै नाममा लेखाएका छन्। यस विश्वकपमा गरेको गोल नै उनको विश्वकप करियरको अन्तिम गोल बनेको छ। यसपटक पोर्चुगलबाट समर्थकले उपाधिको ठूलो अपेक्षा गरेका थिए। तर टोलीले प्रतियोगिताभर अपेक्षाअनुसार समन्वय कायम गर्न सकेन। विशेषगरी स्पेनविरुद्धको अन्तिम–१६ खेलमा मिडफिल्ड, आक्रमण र रक्षापंक्तिबीच तालमेल कमजोर देखिएको थियो। रोनाल्डोलाई पर्याप्त गोल अवसर सिर्जना गर्न टोली असफल देखियो। खेलभर पोर्चुगलले केही अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा अन्तिम समयमा स्पेनले गरेको एक गोल नै निर्णायक बन्यो।
विश्वकपबाट बाहिरिएसँगै पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि पद छाड्ने घोषणा गरेका छन्। विश्वकप जित्ने लक्ष्य पूरा गर्न नसकेपछि अब निरन्तरता दिनुको अर्थ नरहेको उनले बताएका छन्। यद्यपि उनले रोनाल्डोको योगदानको प्रशंसा गर्दै उनलाई फुटबलका लागि प्रेरणादायी व्यक्तित्वको संज्ञा दिएका छन्। यता, पूर्व इंग्ल्यान्ड खेलाडी क्रिस सटनले भने मार्टिनेजको निर्णयमाथि प्रश्न उठाएका छन्। उनका अनुसार प्रशिक्षकले रोनाल्डोलाई हरेक खेलमा सुरुआती टोलीमा राख्दै अन्य विकल्पलाई बेवास्ता गरे। विशेषगरी गोन्कालो रामोसजस्ता युवा खेलाडीलाई पर्याप्त अवसर नदिनु पोर्चुगलको हारको एउटा प्रमुख कारण बनेको उनको टिप्पणी छ। विश्वकपको ट्रफी हात पार्न नसके पनि लगातार छ संस्करण विश्वकप खेल्ने, सबै संस्करणमा गोल गर्ने, रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता बन्ने, पाँच पटक ब्यालोन डीुओर जित्ने तथा दुई दशकभन्दा बढी समय विश्व फुटबलमा आफ्नो प्रभुत्व कायम राख्ने रोनाल्डोको योगदान भने सधैं स्मरणीय रहनेछ। स्पेनसँगको हारसँगै विश्व फुटबलका एक स्वर्णिम युगको अन्त्य भएको छ, तर रोनाल्डोले बनाएको इतिहास र कीर्तिमान भने पुस्तौंसम्म सम्झिनेछन्।
