काठमाडौं। देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा औसतभन्दा दक्षिण र पश्चिमी क्षेत्रमा औसत स्थानकै आसपास रहेको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेस प्रदेश र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी र हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। साथै लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। यस्तै, मधेस प्रदेश र लुम्बिनीको तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ। आज राति पनि देशभर अधिकांश स्थानमा बदली कायम रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा तथा मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। रातिको समयमा कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थान र मधेस तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
