काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत उत्पादनसँगै अब आन्तरिक खपत बढाउने, प्रसारण तथा वितरण प्रणालीलाई बलियो बनाउने र अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने दिशामा अघि बढ्नुपर्ने बताएका छन्।
नेपाल विद्युत प्राधिकरणको ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल करिब ३० अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गर्न सक्ने अवस्थामा पुगेको बताए। विद्युत उत्पादन, प्रसारण र वितरण पूर्वाधारको विस्तारसँगै लाखौँ घरधुरीमा विद्युत सेवा पुर्याउन सफल हुनु र निर्यातको चरणमा प्रवेश गर्नु महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो। मन्त्री श्रेष्ठले चार दशकभन्दा लामो समयदेखि नेपालको ऊर्जा क्षेत्रको विकासमा नेपाल विद्युत प्राधिकरणले महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गरे। उनका अनुसार विद्युत निर्यातको अवस्थामा पुग्नु केवल आर्थिक उपलब्धिको सूचक नभई मुलुकको ऊर्जा क्षेत्रमा भइरहेको परिवर्तनको प्रमाणसमेत हो।
ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रका उत्पादक, सहयोगी निकाय तथा सम्बन्धित सबै पक्षको योगदान प्रशंसनीय रहेको उनले बताए। प्राप्त उपलब्धि कुनै एक व्यक्ति वा संस्थाको प्रयासबाट नभई लामो समयदेखिको सामूहिक सोच, प्रयास र सहकार्यको परिणाम भएको मन्त्री श्रेष्ठको भनाइ थियो। उनले अब सरकारको ध्यान विद्युत उत्पादनको मात्रा बढाउने विषयमा मात्र सीमित नरहने स्पष्ट पारे। उत्पादन भएको विद्युतबाट अधिकतम आर्थिक तथा सामाजिक लाभ कसरी सिर्जना गर्ने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताए।
मन्त्री श्रेष्ठका अनुसार सरकारको प्राथमिकतामा विद्युतको आन्तरिक खपत बढाउने, प्रसारण तथा वितरण प्रणाली सुदृढ गर्ने र बाह्य विद्युत बजारको विस्तार गर्ने विषय रहेका छन्। चालु आर्थिक वर्षमा प्रसारण पूर्वाधारको विस्तार र सुधारलाई विशेष प्राथमिकता दिइएको उनले बताए। विद्युत उत्पादन बढ्दै गए पनि त्यसअनुसारको भार धान्न सक्ने प्रसारण प्रणाली कमजोर भए उत्पादनको अपेक्षित लाभ लिन नसकिने उनको भनाइ थियो। त्यसका लागि रणनीतिक महत्वका प्रसारण लाइन, सबस्टेसन तथा ग्रिडको क्षमता विस्तार र सुदृढीकरणसँगै अन्तरदेशीय प्रसारण पूर्वाधार निर्माणलाई तीव्रता दिने गरी सरकारले योजना अघि बढाएको मन्त्री श्रेष्ठले जानकारी दिए।
