न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका मन्त्री खनालले महासभाका क्रममा ‘साइडलाइन’ भेटवार्ता गरेका हुन्।
भेटका क्रममा नेपाल र श्रीलंकाबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विषयमा दुवै पक्षबीच छलफल भएको थियो। साथै, आपसी हित र सहकार्यका विभिन्न क्षेत्रलाई थप विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरिएको थियो।मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपद्बाट प्रभावित समुदायप्रति श्रीलंकाले देखाएको सहानुभूति र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरेका छन्।
विपद्का समयमा आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराएकामा उनले श्रीलंका सरकार तथा त्यहाँका जनताप्रति आभारसमेत प्रकट गरेका छन्। भेटमा नेपाल–श्रीलंका सम्बन्धका विभिन्न पक्षबारे छलफल गर्दै दुवै मन्त्रीले विद्यमान द्विपक्षीय संयन्त्रका बैठकलाई नियमित रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। त्यस्तै, व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क सञ्जाल तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका क्षेत्रमा सहकार्यलाई थप विस्तार र सुदृढ गर्ने विषयमा समेत दुवै पक्षबीच सहमति भएको छ।
