काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा अध्ययनका क्रममा लाग्ने शुल्कमा सहुलियत दिन र छात्रावासको व्यवस्था गर्न अनेरास्ववियुले माग गरेको छ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले सोमबार विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापालाई ज्ञापनपत्र बुझाउँदै बाढी प्रभावित विद्यार्थीका लागि विशेष शैक्षिक सहुलियतको व्यवस्था गर्न आग्रह गरेको हो। कमिटीका कार्यवाहक संयोजक हिक्मत कुमार बुढाका अनुसार विपद्बाट प्रभावित विद्यार्थीको अध्ययन निरन्तरताका लागि विश्वविद्यालयले तत्काल आवश्यक कदम चाल्नुपर्ने माग गरिएको छ। साथै, विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक कामलाई प्रभावकारी बनाउन त्रिविको ६७औँ सिनेट बैठक छिटो बोलाउन पनि माग गरिएको छ। अनेरास्ववियुले लामो समयदेखि रोकिएका वार्षिक बजेट, नीतिगत तथा प्रशासनिक निर्णयहरू सिनेट बैठकमार्फत अघि बढाउनुपर्ने जनाएको छ। रिक्त रहेका सिनेट सदस्यको मनोनयन प्रक्रिया पनि तत्काल अगाडि बढाउन उसले आग्रह गरेको छ। त्यस्तै, त्रिविको सम्बन्धनसम्बन्धी नियम उल्लंघन गरी एउटै भौतिक पूर्वाधार तथा व्यवस्थापनबाट अन्य विश्वविद्यालय वा बोर्डका कार्यक्रम सञ्चालन गरिरहेका क्याम्पसको छानबिन गर्न माग गरिएको छ।
विश्वविद्यालयका अतिक्रमित चल तथा अचल सम्पत्ति कानुनी प्रक्रियामार्फत फिर्ता ल्याउनसमेत अनेरास्ववियुले जोड दिएको छ। विद्यार्थीका जायज माग सम्बोधन गर्नुका साथै विश्वविद्यालयको शैक्षिक गुणस्तर र प्राज्ञिक मर्यादा कायम गर्न प्रशासनले स्पष्ट योजना बनाएर कार्यान्वयन गर्नुपर्ने अनेरास्ववियुको भनाइ छ। मागहरू समयमै सम्बोधन नभए विद्यार्थी, प्राध्यापक तथा अन्य सरोकारवाला पक्षसँग समन्वय गरेर थप दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत दिइएको छ।
