काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि रुसी राजदूत एलेक्सी भ्लादिमेरोभिकबीच शिष्टाचार भेटवार्ता भएको छ।
सोमबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र रुसबीचको आपसी सम्बन्ध तथा द्विपक्षीय हितसँग जोडिएका विभिन्न विषयमा छलफल भएको बताइएको छ। भेटमा शिक्षा, खेलकुद तथा जनशक्ति विकासका क्षेत्रमा दुई देशबीच सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो।
मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रुसले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै शिक्षा र खेलकुदका क्षेत्रमा आगामी दिनमा सहकार्य अझ विस्तार गर्नुपर्ने धारणा राखेका थिए। त्यस अवसरमा रुसी राजदूत भ्लादिमेरोभिकले पनि नेपालका शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी र सहकार्य बढाउन आफ्नो देश इच्छुक रहेको बताएका थिए। उनले नयाँ सम्भावनाको पहिचान गर्दै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा व्यक्त गरेका थिए।
