चोलेन्द्र पक्राउ प्रकरणमा प्रचण्डको आपत्ति, ‘यस्तो कदम सरकारकै लागि घातक हुन सक्छ’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन्।

सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले बिना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गर्ने कार्य दोहोर्‍याए सरकारले त्यसको ठूलो राजनीतिक मूल्य चुकाउनुपर्ने बताएका हुन्। पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेर न्यायालयलाई दबाबमा पार्न खोजिएको हो कि भन्ने सन्दर्भमा उनले सरकारप्रति प्रश्न उठाए। उनले ‘छोरी पिटेर बुहारी तर्साउन खोजे’ भन्ने उदाहरण दिँदै यस्तो कदम सरकारकै लागि घातक हुनसक्ने टिप्पणी गरे। प्रचण्डले आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सुरक्षा जोखिमकै कारण जबरालाई नियन्त्रणमा लिइएको हो भने पक्राउ गर्नुको सट्टा उनको निवासमै सुरक्षाकर्मी थप गर्न सकिने उनको भनाइ छ।

उनले भने, “यदि सुरक्षा थ्रेट हो भने सुरक्षा बढाउने हो। पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरेर छोड्नुको वास्तविक कारण पनि विस्तारै बाहिर आउँदै जान्छ।” यसैबीच, संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र साहले गरेको सम्बोधनबारे पनि प्रचण्डले प्रतिक्रिया दिएका छन्। उनले नेपालले भोगिरहेका समस्याको सन्दर्भमा प्रधानमन्त्रीको सम्बोधनलाई स्वाभाविक रूपमा लिनुपर्ने भन्दै त्यसलाई अनावश्यक रूपमा बढाइचढाइ गर्न नहुने धारणा राखेका छन्।

Back To Top
Modern Footer Design