सिन्धुली । सिन्धुलीमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। बीपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका–३ गणेशथानमा जिप अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ।
बुधबार बिहान करिब साढे ८ बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिना माया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ घाइते भएका छन्।
घाइते सबैलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। जिप चालक बेथानचोक गाउँपालिका–३ का २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेका छन्। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
