काठमाडौं । अस्ट्रेलिया सरकारले आप्रवासन व्यवस्थापनलाई थप व्यवस्थित गर्ने भन्दै अस्थायी भिसासम्बन्धी नियममा कडाइ गर्ने घोषणा गरेको छ। नयाँ व्यवस्थाबाट अस्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीसमेत प्रभावित हुने भएका छन्।
सरकारले चालु आर्थिक वर्षमा खुद वैदेशिक आप्रवासनको संख्या २ लाख ४५ हजारमा सीमित गर्ने लक्ष्य लिएको छ। सोही लक्ष्यअनुसार अस्थायी भिसा प्रणालीमा विभिन्न परिवर्तन गर्न लागिएको हो। नयाँ नियमअनुसार अस्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो हालको अध्ययन तहभन्दा तल्लो तहको पाठ्यक्रममा जान चाहेमा थप प्रतिबन्धको सामना गर्नुपर्नेछ। विद्यार्थी भिसालाई अस्ट्रेलियामा लामो समय बसिरहने उद्देश्यले पटक–पटक पाठ्यक्रम परिवर्तन गर्न प्रयोग गर्ने प्रवृत्ति रोक्न यस्तो व्यवस्था ल्याइएको सरकारले जनाएको छ।
त्यस्तै, कामसँगै बिदा मनाउने भिसा कार्यक्रमअन्तर्गत दोस्रो र तेस्रो वर्षको भिसा प्राप्त गर्ने प्रक्रियामा पनि नयाँ व्यवस्था प्रस्ताव गरिएको छ। प्रस्तावअनुसार दोस्रो वर्षका लागि ४५ हजार र तेस्रो वर्षका लागि ५ हजार कोटा छुट्याइनेछ। योग्य आवेदकहरूमध्येबाट चिठ्ठा प्रणालीमार्फत छनोट गरिनेछ। दोस्रो वर्षको कामसँगै बिदा मनाउने भिसाका लागि तोकिएको क्षेत्रमा सामान्यतया ८८ दिन काम गर्नुपर्ने हालको व्यवस्था भने यथावत रहनेछ। सरकारले भ्रमण भिसामा अस्ट्रेलिया प्रवेश गरेपछि अर्को प्रकारको भिसा लिने प्रक्रियामा पनि नियन्त्रण गर्ने भएको छ। केही भ्रमण भिसामा थप समय बस्न नपाइने सर्त लागू गर्ने तयारी गरिएको छ।
अस्ट्रेलिया सरकारका अनुसार नयाँ परिवर्तनको उद्देश्य अस्थायी भिसा प्रणालीलाई व्यवस्थित बनाउनु, भिसाको दुरुपयोग नियन्त्रण गर्नु र देशको आप्रवासनलाई निर्धारित सीमाभित्र राख्नु हो। यद्यपि नयाँ व्यवस्था सबै प्रकारका भिसावाहकलाई एकै किसिमले लागू नहुने जनाइएको छ। कुन भिसा, सम्बन्धित व्यक्तिको राष्ट्रियता र व्यक्तिगत परिस्थितिका आधारमा नियम लागू हुने अवस्था फरक हुन सक्ने सरकारले स्पष्ट पारेको छ।
