जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या आरोपमा बुहारी पक्राउ

जाजरकोट । जुनिचाँदे गाउँपालिका–५ पाँगामा ७५ वर्षीय गंगाराम शाहीको हत्या गरेको आरोपमा प्रहरीले उनकी माइली बुहारी शर्मिला शाहीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गत साउन ११ गते राति करिब ८ बजेतिर गंगाराम आफ्नै घरको सिँढीनजिक घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा मृत फेला परेका थिए। घटनास्थलबाट प्रहरीले हत्या गर्न प्रयोग भएको भनिएको हँसिया/खुकुरीसमेत बरामद गरेको जनाएको छ। घटनाबारे अनुसन्धान अघि बढाउने क्रममा मृतकका जेठा छोरा राजकुमार शाहीले असोज ७ गते शर्मिलाविरुद्ध किटानी जाहेरी दिएका थिए।

उक्त जाहेरीका आधारमा प्रहरीले शर्मिलालाई उनकै घरबाट पक्राउ गरी असोज ८ गते नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार जाजरकोट जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न पहिलोपटक १० दिनको म्याद दिएको छ। पक्राउ परेकी शर्मिलामाथि घटनाको कारण तथा संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Back To Top
Modern Footer Design