चाडपर्वमा यात्रु आवागमन सहज बनाउन पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौँ । दसैँ, तिहार र छठलगायतका ठूला चाडपर्व नजिकिएसँगै बढ्ने यात्रुको चापलाई व्यवस्थित गर्न संघीय संसद्को पूर्वाधार विकास समितिले सरकार तथा सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ।

मंगलबार बसेको समितिको बैठकले चाडपर्वको समयमा सार्वजनिक यातायातलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन विभिन्न निर्णय गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो। समितिले यात्रुको चापलाई ध्यानमा राख्दै पर्याप्त सार्वजनिक सवारीसाधनको व्यवस्था गर्न भनेको छ। जथाभावी यात्रु चढाउने–ओराल्ने र सडकमा सवारी रोक्ने प्रवृत्ति नियन्त्रण गरी तोकिएका बसपार्कबाट मात्र सवारी सञ्चालन गर्न निर्देशन दिइएको छ। साथै, तोकिएको स्थानबाट टिकट बिक्री गर्ने र सुरक्षित स्थानमा मात्र यात्रु चढाउने तथा ओराल्ने व्यवस्था मिलाउन भनिएको छ।

यातायात सेवालाई ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका लागि सहज बनाउन पनि समितिले निर्देशन दिएको छ। यात्रुलाई आवश्यक जानकारी तथा सहजीकरणका लागि विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गर्न सम्बन्धित निकायलाई भनिएको छ। चाडपर्वमा हुने अत्यधिक सवारी चाप तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी गर्न समितिले जोड दिएको छ। सम्भावित जोखिमको मूल्याङ्कन गरी वैकल्पिक मार्गको पहिचान तथा तयारी गर्न, सवारीसाधनको प्राविधिक अवस्था परीक्षण गर्न र चालकलाई पर्याप्त आरामको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

त्यस्तै, सवारीको गति नियन्त्रण गर्न र क्षमताभन्दा बढी यात्रु बोक्ने कार्य पूर्ण रूपमा रोक्न समितिले भनेको छ। एकीकृत बसपार्कसम्बन्धी नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सम्बन्धित निकायबीच आवश्यक समन्वय कायम गर्न पनि समितिले ध्यानाकर्षण गराएको छ। चाडपर्वका बेला टिकट नपाउने तथा तोकिएकोभन्दा बढी भाडा तिर्नुपर्ने यात्रुको समस्या समाधान गर्न पूर्वाधार विकास मन्त्रालयलाई तत्काल कार्ययोजना बनाएर लागू गर्न समितिले निर्देशन दिएको छ। यात्रुले सहज रूपमा टिकट पाउने व्यवस्था, निर्धारित भाडादरको कार्यान्वयन तथा गुनासो सुनुवाइका लागि प्रभावकारी संयन्त्र बनाउन पनि भनिएको छ।

लामो दूरीका यात्राका क्रममा राजमार्गमा रहेका होटल तथा रेस्टुरेन्टले खाना, खाजा र खानेपानीमा मनपरी मूल्य लिने तथा गुणस्तरहीन सामग्री बिक्री गर्ने गुनासोलाई समेत समितिले सम्बोधन गर्न खोजेको छ। त्यस्ता गतिविधि नियन्त्रण गर्दै उपभोग्य वस्तुको मूल्य र गुणस्तरमा नियमित अनुगमन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। यसैबीच, सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउन असोज ५ गते गठन गरिएको समितिको उपसमितिलाई पूर्णता दिने क्रममा राजु नाथ पाण्डेलाई सदस्य चयन गरिएको छ। उक्त उपसमितिले चाडपर्वका समयमा यातायात क्षेत्रमा देखिने समस्या तथा यात्रुले भोग्ने कठिनाइको अनुगमन गरी समाधानका लागि आवश्यक पहल गर्ने जनाइएको छ। सरोकारवालाबाट प्राप्त सुझावलाई समेत समेट्दै चाडपर्वको यात्रालाई सुरक्षित, सहज र कष्टमुक्त बनाउने उद्देश्यले बैठकबाट यी निर्णय गरिएको समितिले जनाएको छ।

Back To Top
Modern Footer Design