काठमाडौं । प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा दुवै पक्षले आ–आफ्नो तर्क प्रस्तुत गरेका छन् । कार्कीलाई जिम्मेवारीबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको निवेदनमाथि बुधबार सुनुवाइ भइरहेको हो ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा भएको सुनुवाइमा सुरुमा कार्कीतर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए । उनीहरूले कुनै ठोस कारणबिना प्रहरी महानिरीक्षकलाई पदबाट हटाउनु गैरकानुनी भएको जिकिर गर्दै सरकारको निर्णय बदर गर्न माग गरेका छन् । विगतका न्यायिक नजिरले पनि सरकारले मनलाग्दी रूपमा प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाउन नमिल्ने उनीहरूको तर्क थियो ।
कार्की पक्षको बहसपछि सरकारका तर्फबाट महान्यायाधिवक्ता डा. नारायण कँडेलसहित सरकारी वकिलहरूले प्रतिवाद गरेका छन् । उनीहरूले कार्कीलाई जिम्मेवारीविहीन बनाइएको नभई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको दाबी गरेका छन् । उक्त जिम्मेवारीलाई बढुवाकै रूपमा व्याख्या गर्दै आफ्नै बढुवाविरुद्ध कार्की अदालत पुगेको भन्दै सरकारी पक्षले प्रश्न उठाएको छ । रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेकाले दुवै पक्षको बहस सकिएपछि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा बुधबार नै अदालतले निर्णय दिन सक्ने सम्भावना छ ।
