काठमाडौँमा अटिजम स्कुल निर्माण सुरु, ९ करोड ७७ लाखमा ठेक्का सम्झौता

काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले वडा नम्बर २९ मा अटिजम भएका बालबालिकालाई लक्षित गरी विद्यालय तथा अनुसन्धान केन्द्रको भवन निर्माण प्रक्रिया अघि बढाएको छ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान स्थानीय जनप्रतिनिधि र बासिन्दाको उपस्थितिमा भवनको जग पूजा गर्दै शिलान्यास गरेकी हुन्।
कार्यक्रममा बोल्दै डंगोलले अपाङ्गता वा अटिजम भएकै कारण कुनै पनि बालबालिका शिक्षाको अवसर र अन्य आधारभूत अधिकारबाट वञ्चित हुन नहुने बताइन्। सबै बालबालिकाले समान रूपमा पढ्न, खेल्न र सम्मानजनक जीवन बिताउन पाउने व्यवस्था सुनिश्चित गर्नु राज्यको जिम्मेवारी भएको उनको भनाइ थियो।

उनका अनुसार निर्माण हुन लागेको केन्द्रले अटिजम भएका बालबालिकाको सिकाइ र सीप विकासमा सहयोग पुर्‍याउनुका साथै तालिम, अध्ययन तथा अनुसन्धानका गतिविधि सञ्चालन गर्नेछ। बालबालिकाका अभिभावकलाई आवश्यक परामर्श र सहयोग उपलब्ध गराउन पनि भवन उपयोगी हुने अपेक्षा गरिएको छ।काठमाडौँ स्कुल फर चिल्ड्रेन विद अटिजम एण्ड रिसर्च सेन्टर’ नाम दिइएको भवन वडा कार्यालयको प्रशासनिक भवनको पूर्वतर्फ निर्माण गरिनेछ। इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार ४५० दशमलव ८० वर्गमिटर क्षेत्रफलमा बन्ने भवन पाँचतले हुनेछ। भूमिगत तलासहित भवनको कुल क्षेत्रफल १८ हजार ५०० वर्गफिट रहनेछ।

भवनको भूमिगत तलामा ३० वटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्ने व्यवस्था हुनेछ। पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष रहनेछन् भने चौथो तलामा प्रशासन र अनुसन्धान कक्ष बनाइनेछ। पाँचौँ तलामा बार्दली रहने डिजाइनमा उल्लेख छ। भवनमा आठ जना अट्ने लिफ्ट र पहुँचयुक्त शौचालय तथा कोठाहरूको व्यवस्था गरिनेछ।भवन निर्माणका लागि १० करोड ९१ लाख ७९ हजार ६०२ रुपैयाँ लागत अनुमान गरिएको थियो। तर सार्वजनिक खरिद प्रक्रियाबाट ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा निर्माण सम्झौता भएको छ।

निर्माण कम्पनीले २०८३ मङ्सिर ३ गते कार्यादेश प्राप्त गरेको छ। सम्झौताअनुसार २०८४ चैत मसान्तसम्म भवन निर्माण सम्पन्न गर्नुपर्नेछ। भवनको नक्सा तथा डिजाइन सार्वजनिक निर्माण विभागले तयार पारेको हो।

Back To Top
Modern Footer Design