काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले हिमाली क्षेत्रमा बढ्दै गएको बाढी, पहिरो लगायतका विपद्लाई नेपालको आन्तरिक समस्याका रूपमा मात्र बुझ्न नहुने बताएका छन्।
उनले यस्ता घटनाको सम्बन्ध जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिसँग रहेकाले यसको सामना गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका हुन्। शनिबार काठमाडौँमा आयोजित काष्ठमण्डप संवादको तेस्रो शृङ्खलामा बोल्दै खनालले हिमाली क्षेत्रमा देखिने विपद्का घटनालाई जलवायु परिवर्तन र सीमापार पारिस्थितिक जोखिमको समग्र सन्दर्भमा अध्ययन गर्नुपर्ने बताए। भोटेकोशीमा आएको आकस्मिक बाढीबारे चीनले पूर्वसूचना नदिएको भन्ने सार्वजनिक टिप्पणीप्रति असहमति जनाउँदै उनले त्यस्ता आरोप तथ्यमा आधारित नभएको बताए। उनका अनुसार विपद् व्यवस्थापनमा आरोप–प्रत्यारोपभन्दा पनि पूर्वसूचना प्रणाली, सूचना आदानप्रदान र संयुक्त तयारीलाई प्राथमिकता दिन आवश्यक छ।
खनालले नेपालले जल तथा मौसमसम्बन्धी सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने, विपद् पूर्वतयारीलाई बलियो बनाउनुपर्ने र अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच बढाउनुपर्नेमा जोड दिए। विश्वको कार्बन उत्सर्जनमा नेपालको हिस्सा निकै न्यून भए पनि जलवायु परिवर्तनको असर भने नेपालले गम्भीर रूपमा भोगिरहेको उनको भनाइ थियो। नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै खनालले चीनलाई समृद्धि र संकट दुवै अवस्थामा नेपालको विश्वासिलो मित्रका रूपमा चित्रण गरे। नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनले देखाउँदै आएको समर्थनको उनले प्रशंसा गरे।
उनले नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता कायम राख्नुपर्ने र नेपाली भूमिलाई चीनविरुद्धका कुनै पनि गतिविधिमा प्रयोग हुन नदिनुपर्ने बताए। खनालले नेपाल र चीनबीचको सम्बन्धलाई अझ व्यावहारिक र परिणाममुखी बनाउन सीमापार पूर्वाधार तथा कनेक्टिभिटीका आयोजना अघि बढाउनुपर्ने धारणा पनि राखे। रेल, सडक, सञ्चार लगायतका पूर्वाधार विस्तारले व्यापार, पर्यटन, लगानी र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने उनको भनाइ थियो। बीआरआईअन्तर्गत सहमति भएका परियोजनाको कार्यान्वयनमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै उनले ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कसँग सम्बन्धित आयोजनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए।
बदलिँदो विश्व व्यवस्था, चीनको बढ्दो प्रभाव, सांघाई सहयोग संगठनको भूमिका, डलरमाथिको निर्भरता घटाउने विश्वव्यापी प्रवृत्ति तथा ग्लोबल साउथको बढ्दो प्रभावलाई नेपालले रणनीतिक रूपमा मूल्यांकन गर्नुपर्ने खनालले बताए। उनले नेपाल–चीन सम्बन्धको आगामी आधार विज्ञान, प्रविधि र नवप्रवर्तनलाई बनाउनुपर्नेमा पनि जोड दिए। नेपाली युवालाई प्रविधि, उद्यमशीलता र डिजिटल नवप्रवर्तनमा सक्षम बनाउँदै दुई देशबीचको सहकार्यलाई नयाँ क्षेत्रमा विस्तार गर्नुपर्ने उनको धारणा थियो। स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति, प्रभावकारी सीमापार कनेक्टिभिटी र सहमति भएका विकास आयोजनाको समयमै कार्यान्वयनमार्फत नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाउन सकिने विश्वास खनालले व्यक्त गरे।
