सिरहा । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपत्तिका कारण मुलुक गम्भीर संकटमा रहेकाले अहिले सबै राजनीतिक तथा सामाजिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
बिहीबार सिरहाको मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले भदौ १० गते आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए। उनले अहिले देश राष्ट्रिय पीडा र शोकको अवस्थामा रहेको उल्लेख गर्दै यस्तो भयावह प्राकृतिक विपत्ति नेपालमा मात्र नभई विश्वमै विरलै देखिने गरेको बताए। बाढीका कारण हजारौँ नागरिक अझै बेपत्ता रहेको उल्लेख गर्दै प्रचण्डले प्रभावित परिवार र समुदायलाई सहयोग गर्न सबै तहबाट पहल आवश्यक रहेको बताए। विपद्को समयमा मधेशले पहाड र पहाडले मधेशलाई सहयोग गर्ने नेपाली परम्परा सकारात्मक रहेको उनको भनाइ थियो।
उनले यस्तो एकता र सहयोगलाई संकटको समयमा अझ बलियो बनाउनुपर्नेमा जोड दिए। प्रचण्डले जलवायु परिवर्तन र बढ्दो विश्व तापक्रमका कारण नेपालका हिमाली क्षेत्र थप जोखिममा पर्दै गएको विषय आफूले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको पनि बताए। उनका अनुसार नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिवलाई समेत हिमाल पग्लिँदै जाँदा उत्पन्न हुन सक्ने जोखिमबारे जानकारी गराइएको थियो। सगरमाथा आधार शिविर र लुम्बिनीबाट विश्व समुदायलाई नेपालको पर्यावरण र नागरिक सुरक्षाका विषयमा गम्भीर हुन आग्रह गरिएको उनले स्मरण गरे। निर्वाचनपछि देश, राष्ट्रिय एकता, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, समृद्धि र विकासप्रति आफ्नो जिम्मेवारी अझ बढेको प्रचण्डले बताए।
