काठमाडौँ । काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव चर्किरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिए। मन्त्री यादवले बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ग्यास उद्योगीप्रति कडा अभिव्यक्ति दिएकी थिइन्। उपत्यकामा देखिएको ग्यास अभाव उद्योगीका कारण भएको दाबी गर्दै उनले उद्योगीको ‘पाता नकसेसम्म’ समस्या समाधान नहुने बताएकी थिइन्। त्यस क्रममा उनले नेपालमा सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने धारणा समेत राखेकी थिइन्। देशमा यति धेरै ग्यास उद्योग आवश्यक नरहेको भन्दै दुई वटा उद्योग भए पर्याप्त हुने उनको भनाइ थियो।
मन्त्रीको अभिव्यक्तिपछि ग्यास उद्योगी र सरकारबीच विवाद चर्किएको थियो। उद्योगीहरूले मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए। यता, काठमाडौं उपत्यकामा ग्यासको अभावले उपभोक्ताको दैनिकी प्रभावित भएको छ। एउटा सिलिन्डर ग्यास लिन उपभोक्ताहरू घण्टौंसम्म लाइन बस्नुपर्ने अवस्था छ। ग्यास पाइहाले पनि तोकिएको २ हजार ६० रुपैयाँभन्दा बढी, कतिपय अवस्थामा ३ हजार रुपैयाँसम्म तिर्नुपरेको गुनासो छ।
नेपाल आयल निगम र उद्योग मन्त्रालयले नियमित रूपमा ग्यास आपूर्ति भइरहेको तथ्यांक सार्वजनिक गर्दै आए पनि बजारको अवस्था भने त्यससँग मेल नखाने देखिएको छ। उपभोक्ताहरू घण्टौं लाइन बसेर पनि ग्यास नपाउने समस्या भोगिरहेका छन्। लामो समयदेखि रहेको ग्यास अभावलाई पछिल्लो प्राकृतिक विपत्तिले थप जटिल बनाएको छ। १४ भदौदेखि कृष्णभीरमा सडक भासिएपछि ग्यास ढुवानी प्रभावित भएको बताइएको छ। वैकल्पिक बाटो हुँदै ग्यास ल्याउने प्रयास भए पनि बजारमा सहज रूपमा वितरण हुन नसक्दा अभाव कायमै रहेको छ।
यसैबीच, ग्यास आपूर्ति तथा बजार व्यवस्थापनको जिम्मेवारी पाएको मन्त्रालयले समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै आलोचना समेत भइरहेको छ। संसदीय समितिको बैठकमा मन्त्री यादवले ग्यास उद्योगीमाथि कारबाही गर्न खोज्दा आफ्नै मन्त्रालयका कर्मचारीबाट असहयोग भएको गुनासो समेत गरेकी थिइन्। नेपालमा ग्यास आयात, भण्डारण तथा वितरणका लागि सरकारसँग आफ्नै पर्याप्त पूर्वाधार छैन। हाल सञ्चालनमा रहेका ५८ वटा ग्यास उद्योग निजी क्षेत्रका छन्। नेपाल आयल निगमको स्वामित्वमा ग्यास बोटलिङ प्लान्टसमेत छैन।
सरकारको २० प्रतिशत स्वामित्व रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले सीमित मात्रामा ग्यास बिक्री गर्दै आए पनि त्यसले बजारको सम्पूर्ण माग धान्न सक्ने अवस्था छैन। ग्यास ढुवानीका लागि समेत नेपालसँग आफ्नै पर्याप्त पूर्वाधार छैन। निजी ग्यास उद्योगहरू भारतीय बुलेटमार्फत ग्यास आयात गर्नुपर्ने अवस्थामा छन्। यसका कारण ग्यास ढुवानीमा मात्रै ठूलो रकम विदेशिने गरेको व्यवसायीहरूको दाबी छ। यही पृष्ठभूमिमा ग्यास अभाव समाधानका विषयमा सरकार र निजी क्षेत्रबीच देखिएको मतभेदका बीच उद्योगमन्त्री यादवको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, उनले राजीनामा दिनुको औपचारिक कारण भने सार्वजनिक भएको छैन।
